लोक समाचारदाता
जनकपुरधाम, कात्तिक २५ गते ।
प्रदेश २ का राजधानीको रुपमा रहेका जनकपुरधाम उपमहानगरपालिका भ्रष्टाचारमा चुर्लुम डुबेको व्यापक चर्चा चलिरहेकै बेला हेलोजीन लाइट र विद्युति बल्बमा भ्रष्टाचारको एउटा अर्को रहस्य खुलेको छ ।
नगरमा बढी उज्यालो दिने भन्दै उपमहागरपालिकाले गैरकानूनी रुपमा अगला पोलमा हेलोजीन पावर लाइट र गएको दिपावलीको अवसरमा पोल पोलमा बल्ब जडानमा करोडौ रुपैया अनियमितता गरेको पाइएको छ ।
शहरलाई उज्यालो बनाउने नाममा गएको वर्षमा जनकपुरधाम उपमहानगरपालिकाले नगरको २५ औं वडामा ९५ वटा हाइमास्ट लाईट (हेलोजीन पावर लाईट) २ करोड ९५ लाख रुपैयाको लागतमा जडान गरेको छ । जुन कमसल र गुणस्तरहीन भएको कारण कयौं पोलमा जडान गरिएको हाइमास्ट लाईट बिग्रिन थालेको छ ।
त्यति मात्र होइन चालु आर्थिक र्षमा दिपावलीको अवसर पारेर नगरको पोलमा बल्ब अर्थात २२ सय वटा चिम जडान गर्न साढे १८ लाख रुपैयाँ खर्चिएको हिसाब देखाएको छ । तर नगरको शहर क्षेत्रमा नै अधिकांश पोल बल्ब विहिन छ । ती पोलहरुमा अहिलेसम्म बिग्रेकै बल्ब लागेको छ । तर उपमहानगरपालिकाले २२ सय विजुली बल्बको नाममा साढे २२ लाख रुपैया झ्वाम पारेको हो ।
हाइमास्ट लाईटमा प्रति पोल उपमहानगरपालिकाले करीब २ लाख साढे ३६ हजार खर्च देखाएको तर त्यही उपमहानरपालिकाको वडा नम्बर ७ मा वडाअध्यक्ष जानकीराम साहले प्रति पोल डेढ लाख रुपैया खर्चेको छ । वडा नं. ३ का अध्यक्ष दिपेन्द्र साहले उपमहानगरपालिकाले जडान गरेको जुन हाईमास्ट लाईट जडान गरिएको त्यसको मूल्य मुश्किलले एक लाख रुपैयासम्म रहेको बताएका छन ।
उपमहानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसंग बिना कुनै सहमति वा इजाजतमै नगरको वडाहरुमा हाईमास्ट लाईट जडान गरेको छ । विद्युत प्राद्यिकरण जकपुरधामका अनुसार हामीसंग उपमहानरपालिकाले हाइमास्ट पावर लाइट तथा बल्व जडान गर्ने कुनै प्रकारको सहमति गरेको छैन ।
हाईमास्ट लाईट बारे बिद्युत प्राधिकरणले उपमहानगरपालिकालाई परिपत्र गर्दा पनि त्यसलाई बेवास्ता गर्दै कुनै प्रतिक्रिया जनाएको छैन । एकातर्फ बिद्यूत् चुहावट रोक्न समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने स्थानीय सरकारले भन्दै आएको छ तर त्यही स्थानीय सरकार भन्ने उपमहानगरपालिकाले हाईमास्ट लाईट जडानको नाममा विद्युत चुहावटलाई निरन्तरता दिएको छ ।
कमशसल र गुणस्तरहीन सामान प्रयोग गरिएपनि सरोकारवाला मौन छन् । गैरकानुनी रुपमा जडान गरिएका पावरलाइटले बिद्यूत् चुहावट पनि बढेको छ । चुहावट रोक्न समन्वयकारी भूमिका निर्वाह गुर्नपर्ने स्थानीय सरकार नै अनियमित र गुणस्तरहीन काममा तल्लिन छ ।
उपमहानगरपालिका मेयर लालकिशोर साहले हाईमास्ट लाईटको खरीद टेण्डर आफ्नै भान्जा अरुण साहलाई दिलाएका थिए । खरीद टेण्डर अरुणले पाएपनि मेयर भ्रष्टाचारबाट जोगिन योजना तहत जडान चाहिं वडा अध्यक्षद्वारा उपभोक्ता समिति बनाएर गराएको श्रोतको भनाई छ ।
यसअघि जनकपुरधाम उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदी, उपसचिव मदन घिमिरे लगायत ६ जना कर्मचारीले विद्युतीय सामान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेपनि विद्युतिय बल्बको अनियमिततामा सुधार आउन सकेको छैन । उल्टै वैधानिक रुपमा सप्लायर र जनप्रतिनिधिको मिलोमतोमा भ्रष्टाचारलाई निरन्तरता दिएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !