
लोक समाचारदाता
जनकपुरधाम, कातिक १९ गते ।
विभिन्न मांग राख्दै धर्नामा बस्दै आएका आन्दोलनरत शिक्षकहरुले प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा तालाबन्दी गर्न खोज्दा पक्राउ परेका छन् ।
प्राप्त जानकारी अनुसार आफ्ना मांगप्रति प्रदेश सरकार बेवास्ता गर्दै आएको भनी तालाबन्दी गर्न खोज्दा कम्तिमा ६० जना अस्थायी शिक्षकहरु पक्राउ परेका छन ।
मंगलबार बिहान मुख्यमन्त्री कार्यालय अगाडी पुगेर कर्मचारीलाई भित्र छिर्न नदिने गरी धर्ना तथा तालाबन्दी गर्न खोजेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवले ६० जना शिक्षक पक्राउ परेको जनाएको छ । तर प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले ४३ जना मात्रै पक्राउ परेका दाबी गरेका छन् ।
पछिल्लो पटक असार महिनादेखि नै धर्ना लगायतका आन्दोलन गर्दै आएका अस्थाई शिक्षकहरुलाई निरन्तर काममा फर्काउनुपर्ने माँग गर्दै उनीहरुले सोमबार दिउँसो मुख्यमन्त्री कार्यालय अगाडी आधा घण्टा चक्काजाम समेत गर्दै मंगलवार तालाबन्दी गर्न जाँदा उनीहरु पक्राउ परेका हुन ।
देशभरमा मात्र एक प्रतिशत मधेशी शिक्षकहरु अस्थाई भएकाले षड्यन्त्रपूर्वक सरकारले विभेद गर्दै विगतका सम्झौताहरु मिचेर नयाँ विधेयक लागु गरेको आन्दोलनरत्त शिक्षकहरुको आरोप रहेको छ ।
यसअघि अस्थायी शिक्षकहरुले असार २० गतेदेखि साउन २० गतेसम्म आफुहरुलाई निरन्तर काममा फर्काउनुपर्ने माँग गर्दै प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडी निरन्तर एक महिनासम्म धर्ना दिएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !