लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १८ गते ।
जनकपुरधाम उपमहानगरपालिका र गुठी संस्थान जनकपुरधामले नै अवैधानिक रुपमा सार्वजनिक पोखरीबाट माछा चोर्न लगाएको रहस्य खुलेको छ ।
आइतवार जनकपुरधाम स्थित उपमहानगरपालिका कार्यालयको छेउमा रहेको दिर्घिका सर पोखरीमा उपमहानगरपालिकाका कर्मचारीको मिलोमतोमा माछा मार्ने क्रममा प्रहरीले पोखरी सफा गर्ने ठेक्का लिएका भन्ने व्यक्ति र माछा मार्ने मछुवारा सहित ५ जनालाई नियन्त्रणमा लिएका थिए ।
गुठी संस्थान जनकपुरका कर्मचारी रामदयाल साहलाई आफ्नै कार्यालयको मिलोमतोमा अवैध रुपमा माछा मार्ने काम भइरहेको जानकारी नभएको कारण धनुषा प्रहरीलाई भनेर रोक्न लगाएका थिए ।
यसरी हो दुवै संस्थाका प्रमुखहरुकै माछा चोरीमा संलग्नता
एकातर्फ घटना स्थलमा पुगेका गुठीका कर्मचारी राम दयाल साहले गुठीलाई कुनै जानकारी नै नदिई उपमहानगरपालिकाले अवैध रुपमा माछा मारिरहेको भनी रोक्न लगाए । अर्कोतर्फ गुठीकै प्रमुख मनोज शर्माले पछिल्लो सहमति अनुसार उपमहानगरपालिकाका मेयर लालकिशोर साहको आग्रहमा आफूले सो पोखरीको सौन्दर्यकरणका लागि उपमहानगरपालिकाकै जिम्मा दिएको बताएका छन् ।
अवैध रुपमा माछा मार्ने बारे जिज्ञासामा तम्सिदै उनले भने आफ्नो संस्थाले माछा मार्ने जस्ता कुनै ठेक्का लगाएको छैन, म्याद सकिएको र संचालनमा नआएका पोखरीहरु उपमहानगरपालिकाले नै संचालन गर्ने पछिल्लो सहमति अनुसार सो पोखरीको जिम्मेवार उपमहानगरपालिका रहेकोले अब त्यसले माछा मारयो कि सफाई गरियो त्यो संग हाम्रो कुनै सरोकार छैन ।
प्रमुख शर्मा र कर्मचारी साहको भनाईले प्रष्ट हुन्छ कि सफाईको नाममा दुवै संस्थाका प्रमुखकै मिलोमतोमै अवैध रुपमा सार्वजनिक पोखरीको माछा मार्ने काम गराइएको थियो ।
प्रहरी नियन्त्रणमा रहेका पोखरी सफा गर्ने ठेक्का लिएको भन्ने व्यक्ति जनकपुरधाम ६ का रविकुमार साहले आफूलाई उपमहानगरपालिकाकै कर्मचारीले अह्राएको बताएका थिए भने मछुवाराहरुले आफूलाई स्थानीय व्यवसायी सलीम मोबाइल सेन्टरका संचालन सलीम राईनले माछा मार्ने ठेक्का दिएको प्रहरी समक्ष भनेका थिए ।
घटना बारे मेयर साहसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेपछि उपमेयर रीता मिश्रसँग जिज्ञासा राख्दा उनले पोखरी सफा गर्ने वा माछा मार्ने लगायतका कुनैपनि ठेक्का नलगाइएको र विरेन्द्र चौधरी भन्ने व्यक्ति आफ्नो कर्मचारी समेत नरहेको दाबी गरेकी थिइन । जबकि घटनास्थलबाट प्रहरीले करीब ५० हजार रुपैया बराबरको डेढ क्विन्टल माछा बरामद गरेको थियो । समयमै प्रहरी नपुगेको भए, सो पोखरीबाट लाखौ रुपैया बराबरको माछा मार्न सकिन्थ्यो ।
घटना माछा चोरी हो या पोखरी सफाई छर्लंग
दुवै संस्थाले पोखरी सफाई गर्न लागेको बताउंदै आएका छन् । तर घटनास्थलबाट प्रहरीले माछा बरामद गर्नुका साथै माछा किन्न पुगेका आधा दर्जनभन्दा बढी माछा व्यवसायीहरुलाई त्यहाँबाट खदेर भगाएका थिए । त्यति मात्र होइन प्रहरी नियन्त्रणमा रहेका मछुवारा कमलेश गोसाई समेतले आफूलाई स्थानीय व्यवसायी सलिम राईनले माछा मार्ने ठेक्का दिएको थियो र माछा मार्दा चोरी नहोस भन्ने उद्देश्यले सलिमलाई ठेक्का दिएका रवि साह यहाँ बसेको प्रहरी समक्ष नै संचारकर्मीलाई बताएका थिए ।
गुठी प्रमुखले सहमति अनुसार उपमहानगरपालिकालाई नै स्वामित्व दिइएको बताउंदै आएका छन । तर पछिल्लो सहमति अनुसार ४०÷४० प्रतिशत दुवैको स्वामित्व र २० प्रतिशत जिर्णोद्धारका लागि छुटयाइएको हो । तर माछा चोरी घटनाबाट पन्छिन उनले आफ्नो कुनै सरोकार नरहेको भनी गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् ।
को हुन रवि साह
पोखरी सफा गर्ने ठेक्का लिएका भनिने व्यक्ति रवि उपमहानगरपालिकाको विकास निर्माणको अधिकांश ठेक्का लिने मेयरका भान्जा अरुण साहका राईट हयाण्ड हुन । नगरमा सरस्वती स्कूलको भवन निर्माण, बल्ब जडान र हलोजिनलाईट जडान लगायतका दर्जनौ ठेक्का मेयर साहले आफ्ना भान्जा अरुणलाई दिएका छन र अरुणको सम्पूर्ण ठेक्काको काम रविले गर्दै आएका छन् ।
खोजीको विषय
माथिल्लो यी घटनामा विभिन्न कुराहरु शंकास्पद भई सम्बन्धित निकायलाई खोजीको विषय बनेको छ । १. उपमहानगरपालिकाका कर्मचारी भनिएका विरेन्द्र चौधरी शंकास्पद छन् । किनकी अभियुक्त रवि भन्छन कर्मचारी चौधरीसँग आफूले ठेक्का लिएको हो तर उपमहानगरपालिकाले भन्छ सो नामको व्यक्तिको हाम्रो कर्मचारी नै होइनन । आखिर को हुन त विरेन्द्र चौधरी ?
२. गुठी प्रमुख हाकिम भन्छ सो पोखरीमा हाम्रो सरोकार छैन, ५÷६ वर्षदेखि ठेक्का नै लागेको छैन, त्यसमा सफाई गर्दा माछा कहाँबाट आयो । यदि वास्तवमा सो पोखरीमा माछा उत्पादनका लागि जिरा हालिएन भने माछा कहाँबाट आयो ? एकातर्फ कर्मचारीले रोक्न लगाउँछ अर्कोतर्फ प्रमुखले आफ्नै सहमतिमा सफाई गर्न लगाइएको हो, यी कुरामा के हो वास्तविकता खोजीको विषय बन्न गएको छ ।
३. घटना स्थलबाट बरामद गरिएका माछा प्रहरी भन्छन गुठीको स्वामित्व रहेकोले गुठीको जिम्मा लगाइएको छ, तर प्रमुख शर्मा भन्छन कहाँ गयो माछा आफूलाई के थाहा । आखिर त्यो माछा कहाँ गयो सम्बन्धित निकायका लागि चासोको विषय बन्न गएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !