राजा झा
जनकपुरधाम, कात्तिक १६ गते ।
कात्तिक शुक्ल षष्ठी अर्थात कात्तिक १६ गतेका दिन तराई मधेश सहित देशभर छठ पर्व मनाईदै छ । छठ पर्व मनाउनका लागि महोत्तरी जिल्लाको गौशाला नगरपालिका २ निगौल ठाकुर स्थित कुरुप रहेको पोखरीलाई स्थानीय युवाहरुले चिटिक्क बनाएका छन ।
युवाहरुले सो पोखरीको पानी सहित डिलमा रहेको झारपात सहितको जंगलको सरसफाई छठ पर्वका लागि विभिन्न घाट बनाएर त्यसमा लिपपोत अहिले चिटिक्क बनाएका छन ।
कुनै समय गौशाला नगरपालिका सहित यस जिल्लाकै प्रसिद्ध पोखरीको रुपमा रहेको पछिल्लो केहि वर्षदेखि सरोकारवालाहरुको ध्यान नजाँदा अहिले यो पोखरी कुरुप अवस्थामा बन्दै गएको बेला छठ पर्वको अवसरमा यहाँका स्थानिय युवाहरु मिलेर पोखरीलाई सरसफाई गरेर छठ पर्व मनाउने योग्य बनाएको हो ।
छठ मनाउन तयार पारिएको पोखरीको डिलमा केराको थम्भ गाडेर विभिन्न आर्कषक झिलीमिली विद्युतिय बल्ब लगाएर दुल्हिन झै सजाएको छ ।
पोखरीमा जलकुम्भीहरु रहेकोले यसलाई पोखरीबाट साफ गरेर छठ पर्व मनाउनको लागि दुई÷तीन दिन पहिला देखीनै पोखरीको सरसफाईमा जुटेको गौशाला नगरपालिका वडा नं. २ का करण महतोले बताए । उनले भने, ‘पहिले पहिले पोखरीको अवस्था राम्रो हुँदा एकै दिनमा सम्पूर्ण तयारी हुन्थ्यो तर अहिले पोखरी कुरुप बन्न थालेपछि केहि दिन पहिला देखी नै यसको सरसफाईमा लागेको थिए ।’
सो पोखरीमा गौशाला नगरपालिकामा रहेको हजारौँको संख्यामा श्रद्धालुहरु आएर छठ पर्व मनाउने गरिन्छ । त्यस्तै गौशालाको अन्य ठाउँमा रहेको छठको घाटहरुलाई सिँगारीएको छ । यस क्षेत्रमा पोखरी र नदीमा छठ पर्व मनाइने गरिन्छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !