लोक समाचारदाता
काठमाडौ, कात्तिक १० गते ।
केन्द्रिय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकले यसवर्ष ४ अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छाप्ने तयारी गरेको छ । बैंकले २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न बोलपत्र आह्वान समेत गरिकसकेको छ ।
केन्द्रीय बैंकले नोटको आयु अनुसार हरेक नोट एकपटकमा ३ वर्षका लागि पुग्ने गरी छपाउने प्रावधान अनुसार यसअघि राष्ट्र बैंकले सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान नोट छपाएको थियो ।

राष्ट्र बैंकका अधिकारीका अनुसार, पछिल्ला वर्षमा २० रुपैयाँको नोट सबैभन्दा बढी अभाव हुने नोटमा पर्ने गरेको छ । हरेक वर्ष दसैंको समयमा नयाँ नोट बजारमा पठाउँदा केन्द्रीय बैंकले केही वर्षयता २० रुपैयाँका नोटको अभाव खेप्नुपरेको छ ।
राष्ट्र बैंकले यस्ता साना दरको नोटको साटो ५० र १०० अंकित दरका नोटको छपाइ बढाउने नीति लिएपछि साना दरका नोट अभाव हुने अवस्था आएको छ । पछिल्ला वर्षमा राष्ट्र बैंकले ५०० र १०० दरका नोटको छपाइ बढाउन थालेको छ ।
तीन वर्षअघि २० करोड थान १ हजार दरका नोट छपाएको केन्द्रीय बैंकले यो वर्ष भने ३१ करोड थान छपाउँदै छ । नोटमा प्रयोग हुने कागज, नोटका सुरक्षा विशेषता, छपाइ र ढुवानी लागतअनुसार केन्द्रीय बैंकलाई ठूला दरका नोट छाप्न सस्तो पर्ने गरेकोछ ।
अमेरिकी डलरको विनिमय दरमा आउने फेरबदल पनि छपाइको लागतमा ठूलो अन्तर पार्दै आएको छ । गत १२ असोजमा चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड माइनिङ कर्पोरेसन’सँग भएको सम्झौता अनुसार यही १ हजार दरको नोट छाप्न राष्ट्र बैंकले ३ रुपैयाँ ३६ पैसा खर्च गर्ने भएको छ ।
सन् २०१३ मा ३.१३ रुपैयाँमा छापिएको ५०० दरको नोट २०१६ मा २.९२ रुपैयाँमै छपाएको थियो भने २० रुपैयाँको नोट तीन वर्षअघि १ रुपैयाँ ११ पैसामा छपाइएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !