लोक समाचारदाता
जनकपुरधाम, कात्तिक १ गते ।
प्रदेश २ को राजधानी जनकपुरधाम स्थित जानकी मन्दिरले छिमेकी राष्ट्र भारतका उडिसा स्थित प्रसिद्ध जगन्नाथ मन्दिर सिहंद्वारका स्वामी श्री दिव्यानन्दजी महाराज सहितका टोलीलाई स्वागत तथा सम्मान गरेको छ ।
बिहीवार राति एक भव्य कार्यक्रम आयोजना गरी जगन्नाथ मन्दिर–जानकी मन्दिर–पशुपतिनाथ मन्दिरको मैत्री यात्रामा रहेका स्वामी दिव्यानन्द महाराजलाई प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सम्मान गरेका छन् ।
सम्मान कार्यक्रममा बोल्दै प्रदेश २ का प्रदेश प्रमुख कायस्थले मैत्री यात्राले नेपाल भारतका साथै जनकपुरधामसंग रहेको प्राचीन सम्बन्धलाई यो परम्पराले अझै प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै स्वामी दिव्यानन्दजी महाराजले जनकपुरधामको गरिमा तथा महिमाका बारेमा प्रकाश पार्दै आगामी १७ तरिखका दिन अयोध्या स्थित राम मन्दिर बारे सुप्रिम कोर्टको आउने फैसला सकारात्मक होस भन्ने आर्शिवाद लिन जनकपुर आएको हो भने ।
साथै उनले विवाह पञ्चमी महोत्सवमा यसपटक जगन्नाथ मन्दिरका महन्थ र रविशंकरको अगुवाईमा ७ सय विदेशी पनि जनकपुरधाम आउन थालेको जानकारी दिए ।
कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले जनकपुरधामको धार्मिक पर्यटनमा यस यात्राले थप योगदान दिने बताए ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु रामनरेश राय यादव, नवल किशोर साह, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह सहितका वक्ताहरुले पनि महाराज दिव्यानन्दले शुरुवात गरेको यस मैत्री यात्राको सराहना गरेका थिए । जानकी मन्दिरका छोटा महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा भएको सो कार्यक्रममा जगन्नाथपुरीवाट आएका शंकरशरण परिदा, परेश नायक तथा मनोज त्रिपाठीलाई समेत सम्मान गरिएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !