लोक समाचारदाता
जनकपुरधाम, कातिक १ गते ।
जनकपुर स्थित विमान स्थल तोडफोड आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभा सांसद प्रमोद साह साधारण तारेखमा छुटेका छन् ।
शुक्रवार जिल्ला अदालत धनुषाको इजलास नं. ३ मा सो मुद्दा विरुद्ध भएको थुनछेक बहसपछि न्यायधिस तेजप्रसाद पौडेलको आदेशमा सांसद साहलाई साधारण तारेखमा रिहा गरिएको हो ।
फोटो : अदालतमा सांसद रिहाईको कानूनी प्रक्रिया पुरा गर्दै
गत सोमबार जनकपुर विमान स्थलमा रहेको बुद्ध एयरको विमान ढिलो भएको एक बिरामी छटपटाई रहेको सहन नसकेपछि आक्रोशमा सांसद साहले सो विमान कम्पनीको काउण्टर तोडफोड गरेको थियो ।
तोडफोडपछि बुद्ध एअरका कर्मचारीले उनलाई काठमाडौ जानबाट विमान चढन रोकेपछि दुवै पक्षबीच हातपातको अवस्था समेत उत्पन्न भएको थियो । घटनापछि बुद्ध एअरको दबावमा नागरिक उड्यान प्राद्यिकरण जनकपुरले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत तोडफोड मुद्दामा उनी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको थियो ।
सोही उजुरीको आधारमा घटनाको भोली पल्टै मंगलबार काठमाडौं स्थित त्रिभुवन विमान स्थलबाट ओखलढुंगा जाने क्रममा सांसद साहलाई प्रहरीले पक्राउ गरिएको थियो । पक्राउपछि सोही दिन उनलाई अनुसन्धानका लागि जनकपुर ल्याएको थियो ।
बुधबार जिल्ला अदालत धनुषाले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो । अनुसन्धानका लागि ४ दिन म्याद थपिएपनि दोश्रो दिनमै प्रहरीले जिल्ला अदालतमा मुद्दा गरेपछि शुक्रवार उनी थुनछेक बहसपछि साधारण तारेखमा रिहा भएका हुन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !