नवीन सिंह
जनकपुरधाम असोज, २६ गते ।
प्रत्येक वर्ष जस्तै यसवर्ष पनि मिथिलाञ्चल क्षेत्र सहित जनकपुरधाममा कोजाग्रत पर्व विशेष धूमधामका साथ मनाइदै छ ।
जनकपुरधाम स्थित जानकी मन्दिरमा विशेष धुमधाम संग गरिने कोजाग्रतका लागि बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइचो लागेको छ ।
असोज पुर्णिमाका दिन मनाइने कोजाग्रत जानकी मन्दिरमा पुजापाठका लागि प्रत्येक वर्ष जस्तै महोत्तरीको रतौलीबाट आउने पाहुर आइतवार बिहानै आएको छ । वर्षौदेखि कोजाग्रत पुर्णिमाका दिन बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफुल मिठाई दहि च्यूरा, पान मखान सहित सहितका १ सय ८ वटा पाहुर आउने गरेको छ । त्यस परम्परालाई यसवर्ष पनि निरन्तरता दिइएको छ ।
मन्दिरमा माता जानकी र भगवान श्रीरामको पुजापाठको तयारी बिहानैदेखि मन्दिरमा तयारी थालिएको छ । जानकी मन्दिरमा मात्रै होइन मिथिलाञ्चलको प्रत्येक घरमा भगवान रामजानकीलाई पुजापाठ गरी कोजाग्रत पुर्णिमा मनाइदैछ ।
दसैं सकिदै आउने पुर्णिमाका दिन मनाइने पर्वलाई मिथिलाञ्चलमा कोजाग्रत पुर्णिमा भनिन्छ । यो पर्व खासगरी रातिमा भगवान रामजानकीलाई पूजापाठ गरी मनाउने गरिन्छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा विशेष पूजा गर्ने चलन वर्षौदेखिको रहेको र सोही अनुरुप यसवर्षपनि विशेष पुजापाठ गरिने बताए ।
कोजाग्रत पूर्णिमाको दिन जानकी मन्दिर र घर पुजा गरिने मखान, काजु, किसमिस बदाम लगायतका प्रसाद सामाग्री बेच्नेहरुको भीडभाड पनि मन्दिर परिसर र जनकपुरधाम बजारमा देखिएको छ ।
कोजाग्रत पूर्णिमाको विशेष पूजा हेर्न जानकी मन्दिर रातिमा हजारौको संख्यामा भीड लाग्ने गरेको छ । यसवर्ष पनि सोही संख्यामा श्रद्धालु भक्तजनको भीड लाग्ने विश्वास महन्थ दासको रहेको छ ।


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !