लोक समाचारदाता
जनकपुरधाम,असोज २३ गते ।
धनुषाको जनकनन्दनी गाउँपालिकामा वडा अध्यक्षको मोटरसाइकल सहित ९ वटा मोटरसाइकलमा आगजनी भएको छ ।
प्राप्त जानकारी अनुसार गाउँपालिकाको वडा नं. ३ स्थित प्रको महुवामा बिहीवार बिहान करीब साढे तीन बजे पार्किंग गरी राखिएका ९ वटा मोटरसाइकल चारवटा साइकल आगजनीले पुर्ण रुपमा जलेर नष्ट भएको छ ।
सार्वजनिक स्थलमा पार्किङ गरेर राखिएको वडाध्यक्ष विष्णुदेव साहसहितका ९ जनाको मोटरसाइकल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । प्रहरी निरिक्षक राजन थापाका अनुसार अनुसार ४ वटा भारतीय, ४ वटा नेपाली र एउटा वडाध्यक्ष चढने सरकारी नम्बर प्लेटको गाडीमा आगजनी भएको हो ।
एकाबिहानै मोटरसाइकल जलिरहेको स्थानीयले देखेपछि प्रहरी लाई खबर गरेका थिए । घटनास्थलमा विजुलीको तार समेत चुडिएको देखिएकाले तार शर्ट भएर पनि आगजनी भएको हुन सक्ने आशंका गरिएको छ ।
प्रहरीका अनुसार सार्वजनिक जग्गामा पार्किँग गरी राखिएको ज ९ प ७६२५ , स १ प ४३८१, स ८ प ७७१८ , ज १ प ९३३ (गाउँपालिकाको वडा नं. ३ को) र ज ६ प ७९९५ नम्बरको नेपाली प्लेटका मोटरसाईकलहरु जलेर ध्वस्त भएको हो ।
सोही आगलगीमा त्यही पार्किंग गरी राखिएको बिआर ३२ एन ५३३९, बिआर ३२ एफ ९३००, बिआर ३२ भि ३०८४, बिआर ३२ एफ ६०७८ भारतीय नम्बर प्लेटको मोटरसाईकल समेत जलेर ध्वस्त भएको हो । वडा स्थित गणेश मन्दिर जाने बाटोमा रहेको एक सार्वजनिक जग्गामा जहाँ सामुदायिक भवन पनि निर्माण भईरहेको छ, सोही ठाउँमा स्थानीयवासीहरुले अघिदेखि नै प्रत्येक दिन सवारी पार्किंग गर्दै आएका थिए ।
घटना कसरी भएको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक थापाले बताएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !