
एजेन्सी
नयाँदिल्ली, असोज २१ गते ।
भारतको तमिलनाडु राज्यमा एक नवविवाहित महिला र परिवारका तीन अन्य सदस्यले सेल्फी फोटो खिच्ने क्रममा ज्यान गुमाएका छन ।
उनीहरु सरोवरमा एक आपसमा हात समातेर पाम्बार बाँधमा कम्मरसम्म पानी जम्मा भएको ठाउँमा उभिएर सेल्फी खिच्दै गर्दा एकजना अलि गहिरो स्थानमा पुगेर चिप्लिएर ज्यान गुमाएको हो ।

सो नवविवाहित पुरुषले आफ्नो बहिनीलाई बचाउन भ्याए तर बाँकी सबै डुबेका बताइएको छ । सेल्फीको मोहले हाल दुर्घटना बढेको बताइन्छ । द हिन्दू पत्रिकाका अनुसार आइतवार कृष्णागिरी को बार्गुरका नवविवाहित जोडी उथानगराइ भन्ने ठाउँमा रहेका आफन्त भेट्न गएका थिए । साथमा दुलहाका बहिनी पनि थिइन् । साथका अन्य तीन किशोरकिशोरी पनि रहेका जनाइएको छ ।
सो दुर्घटनामा १४ वर्षीय किशोर चिप्लिए र सँगसँगै १८ र १९ वर्षका दिदीलाई आफूसँगै तानेको बताइएको छ । सन् २०११ र सन् २०१७ मा विश्वभर भएका सेल्फी मृत्युको सङ्ख्या २५९ पुगेको थियो । जसमध्ये आधा भारतीय नागरिक रहेका बताइएको छ । भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन् ।
भारतको हरियाणा राज्यमा मे महिनामा तीन किशोरहरूले रेलवे मार्गमा सेल्फी खिच्ने क्रममा अगाडिबाट आएको रेललाई छल्ने कोसिस गरेका थिए, तर विपरीत दिशाबाट आएको रेलको ठक्करबाट उनीहरूको ज्यान गएको थियो ।
सोही वर्ष ओडिसा राज्यमा एकजना पुरुषले एक हात्तीसँगै उभिएर सेल्फी खिच्दै गर्दा उक्त हात्तीले सूँढले कसेर तिनको ज्यान गएको थियो ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !