
लोक समाचारदाता
जनकपुरधाम, असोज १७ गते ।
प्रत्येक वर्ष झै यसवर्ष पनि धार्मिक नगर जनकपुरधामका विभिन्न शक्तिपीठाहरुमा करोडौ खर्चेर हर्षोल्लासका साथ विजया दशमी मनाइदै छ ।
विकासमा निकै पछाडि रहेका प्रदेश २ का राजधानी जनकपुरधाममा चन्दा संकलन गरी करोडौ रुपैया खर्चेर विजया दशमी मनाइएपनि उपलब्धी शुन्य नै देखिएको छ । पर्व त्योहारको नाममा विभिन्न कार्यालय सहित आम नागरिक र व्यवसायी वर्गले हजारौ लाखौ रुपैया चन्दा दिने गरेको छ, तर जनकपुरधामको विकासका लागि एक रुपैया पनि चन्दा नदिने गरेको अवस्था देखिएको छ ।

जनकपुरधामको विकासका लागि यहाँका आम नागरिक, व्यवासयी र कार्यालय जागरुक रहयो भने विजया दशमीमा करोडौ खर्चे नभई विकास कार्यमा खर्च हुने थियो । जनकपुरधामको विकास नहुनुमा प्रमुख कारण प्रायः राजनीतिक सँग आबद्ध रहेको र स्थानीय, प्रदेश र संघीय सरकारबाट आउने विकासको रकममा काम भन्दा बढी भ्रष्टाचार गर्ने सोच रहेको छ ।
प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई आकर्षक र झकझकाउ बनाउ सौन्दर्यीकरणमा महावीर युवा क्लबले लाखौ रकम खर्च गरेको छ । दशमीमा यसपाली रावण बध साथै लंका दहन कार्यक्रमको समेत आयोजना गरिने क्लबका अध्यक्ष सन्तोष साहले बताए । पुजामा २०—२५ लाख रुपैंया खर्च हुने उनले बताएका छन ।

राजदेवी मात्र होइन बौधीमाई मन्दिर, अमरखाना मन्दिरमा पनि राम युवा कमिटीले लाखौ रुपैया सरसजावट तथा पुजापाठमा खर्चेका छन । सरसजावट र पूजापाठ भन्दा बढी रकम यी युवा कमिटीहरुले मनोरञ्जनात्मक कार्यक्रममा खर्चदै आएको देखिएको छ ।
विजया दशमीको अवसरमा चन्दा संकलनबाट आएको रकमबाट लाखौ रुपैया अनियमितता समेत सम्बन्धित कमिटीका पदाधिकारीहरुले गर्दै आएको आरोप प्रत्यारोप लाग्दै आएको छ । स्थानीयका अनुसार रुपैया कमाउने उद्देश्यले ती कमिटीहरुको नेतृत्व लिन प्रत्येक निर्वाचनमा लाखौ रुपैया खर्च गर्ने गरेको छ ।

प्रतिष्ठित व्यापारीका साथै सदस्यता नवीकरण, चंदा, बोकाबली लगायतका श्रोतबाट रकम संकलन हुने गरेको साहले जानकारी दिए । दर्शनार्थीलाई आकर्षित गर्न मन्दिर सरसजावटकालागि पुजामा २०÷२५ लाख रुपैंया खर्च हुने क्लबका अध्यक्ष उपेन्द्र ठाकुरले बताए ।
त्यस्तै रामानन्द चोकमा दुर्गाको प्रतिमा स्थापना गरी भव्यताका साथ पूजाको आयोजना गर्दै आएको र यसपाली पनि आयोजक समिति रामानन्द युवा क्लबले लाखौँ खर्च गरेका छन् । मुर्ति निर्माण, पंडाल, रंगीचंगी बल्बका साथै पुजापाठमा करिब १२÷१४ लाख खर्च हुने क्लबका अध्यक्ष मनमोहन साहले बताए ।
रजौलमा दुर्गा पुजा संरक्षण समितीले समेत लाखौँ खर्च गरी मन्दिर झकझकाएका छन् । पुजामा करिब १० लाख रुपैँया खर्च हुने समितीले जनाएको छ । यसका साथै जनकपुरको मुरली चोक, भ्रमरपुरा चोक, पिडडीया माइस्थान, रजौल लगायतको क्षेत्रका दर्जनौ युवा क्लबहरु पनि दशैंको तयारीका लाखौ रुपैया खर्चेका छन् ।
प्रत्येक वर्ष विजयादशमीमा पुजापाठका लागि करोडौ रुपैया स्थानीय युवा क्लब तथा कमिटीहरुले चन्दा मार्फत संकलन गर्दै आएको छ तर ती रकम मात्र १० दिनका लागि खर्चिने तर विकासको नाममा एक रुपैया पनि नखर्चेर सरकारको आशमा बसेको पारम्परिक रिवाजले गर्दा जनकपुरधाम हालसम्म निकै पछि परेको बुद्धिजीवीहरुको भनाई छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !