लोक सम्वाददाता
जनकपुरधाम, भदौ ५ गते ।
प्रदेश २ लाई हरित बनाउने कल्पना सहित चालु आर्थिक वर्षमा लाखौ विरुवा रोप्ने कार्यक्रम अघि सारिएको छ ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षदेखि सुरुवात गरेको ‘प्रदेश हरित अभियान’ अन्तर्गत यस वर्ष भदौ ६ गतेदेखि महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाका लक्ष्मिनिया स्थित सागरनाथ वनबाट अभियानको शुभारम्भ गर्न लागेको छ ।
बिहीवार एक पत्रकार सम्मेलन आयोजना गरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवले यस वर्ष ८ वटै जिल्लामा गरी एक सय ९१ हेक्टरभन्दा बढी क्षेत्रफलमा करीब ३ लाख विरुवा लगाउने लक्ष्य रहेको जानकारी दिए ।
हरित प्रदेश अभियानलनई सरकारले गौरवको रुपमा अगाडी बढाउँदै मुख्यमन्त्री लालबाबु राउतको हातबाट वृक्षारोपन गरी अभियान शुभारम्भ गर्न लागेको उनले जानकारी समेत दिए ।
करीब २÷३ करोडको लागतमा झण्डै प्रति हेक्टरमा १६ सय वृक्षको हिसाबले ३ लाख ६ हजार बोटबिरुवा रोप्ने योजना प्रदेश सरकारको लक्ष्य छ । संघ र प्रदेश सरकारको क्षेत्राधिकारको विषयमा बिवादमा रहेको सागरनाथ बन बिकास परियोजनामा हरित अभियानको सुरुवात गर्न लागिएको हो ।
संघीय सरकार र प्रदेश सरकार क्षेत्राधिकार बिवादमा सर्वोच्चमा मुद्दा दायर भएको छ । तर अहिले प्रदेश सरकारले सोही क्षेत्रलाई प्रदेश सरकार मातहत रहेकोले सोही स्थानबाट बृक्षारोपन गर्न थालिएको मन्त्री रायको दाबी छ । उनले भने, ‘सागरनाथ बनको अतिक्रमण प्रदेश सरकारले हटाउने, वृक्षारोपण गर्ने तर अधिकार संघीय सरकारले खोज्ने प्रवृति ठीक होईन ।
आर्थिक वर्ष २०७५÷०७६ को सरकारको नीति तथा कार्यक्रम अनुसार हरित प्रदेशको कल्पना सहित हरित नगर, हरित गाउँ, हरित सडक, हरित पोखरी, हरित मन्दिर, हरित खोलानाला सहित कार्यक्रम सञ्चालन गर्न लागिएको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिए ।
गतवर्ष प्रदेश २ सरकारले ५० हजार बोट विरुवा लगाएको थियो । सो मध्येका बोट विरुवा हेरचाह संरक्षणको आभावमा अधिकांश नष्ट भइसकेको पत्रकारहरुको जिज्ञासामा मन्त्री रायले यसवर्ष तारजाली लगाएर संरक्षण गरिने गरी बजेट समावेश गरिएको भने ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !