लोक सम्वाददाता
धनुषाको हंसपुर नगरपालिकामा उच्च अदालतको अन्तरिम आदेशपछि ताल्चा त खोलियो तर आन्तरिक विवाद कायमै रहेको देखिएको छ ।
नगरपालिकाको साबिककै कार्यालय तत्कालका लागि कार्य संचालन गर्न उच्च अदालतले अन्तरिम आदेश गरेपछि बुधवार कर्मचारी सहित भरभलादमीको उपस्थितिमा उपमेयर रेणु झाद्वारा कार्यालयको ताल्चा खोली कार्य त शुरु गरियो तर मेयर रामज्ञान मण्डल उपस्थित भएन ।
अदालतको सम्मान गर्न दुवै सहमत भएपनि जुँगा लडाई झै मेयर मण्डलले उपमेयर बस्ने गरेको कार्यालयमा आफु नजाने मनसायले उपस्थित भएन । मेयर र उपमेयरको विवादले करीब एक महिनादेखि बन्द रहेको हंसपुर नगरपालिकाको कार्यालय बुधवारदेखि खोलिएको हो ।
आन्तरिक विवादले गर्दा नगरपालिकाका मेयर र उपमेयर दुवैले आ आफ्नो पायक पर्ने ठाउँमा कार्यालय संचालन गर्दै आएको थियो । मेयर रामज्ञान मण्डलले काम गर्ने वातावरण साबिकको बघचौडा स्थित कार्यालय छाडेर अस्थायी रुपमा हंसपुर चौकमा साउन ३ गतेदेखि छुट्टै कार्यालय संचालन गर्दै आएको थियो । तर उपमेयर रेणु झाले साबिककै कार्यालयमा काम गर्दै आएकी थिइन ।
गत साता मेयर मण्डलले उपमेयरले संचालन गर्दै आएको बचौडास्थित कार्यालयबाट बलजफ्ती कागजातहरु लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । सोही क्रममा प्रहरीले गरेको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी घाइते भएको थियो ।
घटना पश्चात परेको रिटमा सुनुवाई गर्दै उच्च अदालत जनकपुरले तत्कालका लागि बघचौडा स्थित साबिक कार्यालयमै काम गर्न गराउन अन्तरिम आदेश जारी गरेपछि बुधवारदेखि त्यहाँबाट नगरपालिकाको कार्य शुरु भएको छ ।
उच्च अदालत जनकपुरले मंगलबार भदौ ३ गते बहस नभएसम्मका लागि कार्यालयलाई यथास्थितिमै राखेर कार्य संचालन आदेश गरेपछि कर्मचारी र नगरपालिकाका भरभलादमीको उपस्थितिमा ताल्चा खोलेर कार्य शुरु गरिएको उपमेयर झाले बताइन् ।
उनले नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा पत्रकारहरुको रोहवरमा ताला खोलेकी छ भने अधिकृत यादवले हस्ताक्षर गर्दै कामकाज संचालनमा ल्याएको भनिन् । तर मेयर मण्डल कार्यालयमा उपस्थित भएको थिएन ।
तर मेयर मण्डलसँग कार्यालयमा किन उपस्थित हुनु भएन भन्ने जिज्ञासामा उच्च अदालतको आदेश भएपनि उपमेयरले आफूखुसी ताल्चा खालेको र आफ्ना मातहतका ४ जना कर्मचारीलाई मात्र प्रवेश गर्न दिएको आरोप लगाए ।
उनले भने उपभोक्ता समितिले गरेका कार्यहरुको चेक भुक्तानी गर्न बांकी रहेको अवस्थामा उच्च अदालतले तत्कालका लागि साबिककै स्थानमा कार्यालय संचालन गर्न आदेश दिएको हो त्यसमा सम्बन्धित कर्मचारी गएको छ मेयर उपस्थित हुनु कुनै जरुरी छैन ।
मेयर मण्डलले ४ जना कर्मचारीलाई मात्र उपस्थित गर्न दिएको आरोप लगाएपनि कार्यालयको हाजिरी रजिष्टरमा १० जना कर्मचारीले हाजिरी गरेका छन भने तिनीहरुको उपस्थिति समेत रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !