लोक सम्वाददाता
विराटनगर, साउन २५ गते ।
भारतीय सिमानाका नेपाली व्यवसायीहरुलाई हत्या गर्न भारतबाट सार्प सुटर मंगाउने क्रम बढदै गएपछि असुरक्षा बढदै गएको छ ।
मोरंग जिल्लाको विराटनगर महानगरपालिकामा एक व्यवसायीलाई हत्या गर्न भारतबाट मंगाइएका सार्प सुटर सहित योजना बनाइएको घटना सार्वजनिक भएपछि विराटनगरका व्यवसायीहरु अहिले त्रसित भएका छन् ।
विराटनगरका खाद्यान्न व्यवसायी जितु भनिने जितेन्द्र रायको हत्या गर्न भारतबाट मंगाइएका सार्प सुटर पक्राउ परेपछि नेपाली व्यवसायीलाई हत्या गर्न भारतबाट सुटर मंगाउने गरिएको घटना सार्वजनिक भएको हो । जितुको हत्या गर्न भारत बिहार राज्यको सितामढी बैरगिनियाबाट सार्प सुटर कुनालकुमार सिंहलाई मंगाइएको थियो ।
तर प्रहरीले घटना हुनु सार्पसुटर सहित हत्याका योजनाकारहरुलाई पक्राउ गरी तिनीहरुको योजना विफल पारेको छ । प्रहरीले नेपाली ब्यवसायीको हत्या योजना सहित विराटनगर आएका भारतीय सार्पसुटर २२ वर्षिय सिंहसहित तीनजनालाई पक्राउ गरेको हो ।
सिंह बाहेक घटनामा संलग्न अन्य चारजना विराटनगर महानगरपालिका ८ का ३१ वर्षीय मन्नुकुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारायण झा, मोरङको कटहरी गाउँपालिका–५ का ४३ वर्षीय मन्नुकुमार साह रौनियार र महोत्तरी जलेश्वर नगरपालिका ४ का २५ वर्षीय टिंकुकुमार झा रहेका छन् ।
आरोपीहरुविरुद्ध शुक्रबार नै जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै संगठित रूपमा हातहतियार खरखजनासहित आपराधिक षडयन्त्र उद्योगमा मुद्दा दर्ता गरेको छ ।
मुद्दा दर्ता गरिएकामध्ये मुन्नुकुमार साह रौनियार र टिंकुकुमार झा फरार छन् । उनीहरुलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता भएपछि शुक्रबारनै प्रतिवादीहरूमध्ये सिंहको बयान लिन सुरु गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !