लोक सम्वाददाता
वीरगञ्ज, साउन २५ गते ।
वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका ११ रानिघाटस्थित एक खाद्यान्न भण्डारमा छापामारी गरी प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा एक व्यवसायीलाई पक्राउ गरेको छ ।
प्राप्त जानकारी अनुसार स्थानीय राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल सहित व्यवसायीलाई नियन्त्रणमा लिएको छ । पछि वाणिज्य कार्यालयले व्यवसायीलाई सोधपुछ गरी छाडेको बुझिएको छ ।
एक उपभोक्ताले छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएर विक्री वितरण गरिरहेका भनी दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न भण्डारमा छापामारी अनुसन्धानका लागि दुई बोरा चामल नियन्त्रणमा लिएको वाणिज्यका एक कर्मचारीले जनाएको छ ।
उनका अनुसार व्यवासयीलाई छाडिएपनि टोलीले अनुसन्धान गर्न गोदाम सिल गरेको छ । उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीहरुलाई कार्यवाही गरिने भन्दै पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गलत गर्ने व्यापारीहरुको विरुद्धमा उपभोक्ताहरु जागरुक हुनुपर्ने बताए ।
प्लास्टिकको चामलको प्रयोगले क्यान्सर जस्ता गम्भीर रोग लाग्ने भएकाले यस्ता चामलको प्रयोगबाट टाढा रहन चिकित्सकहरुको भनाई छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !