लोक सम्वाददाता
मंलगवा, साउन २४ गते ।
चेक बाउन्स आरोपमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) निकटका विद्यार्थी संगठनका अध्यक्ष मनीष मिश्र पक्राउ परेका छन् ।
विद्यार्थी अध्यक्ष मिश्रलाई सोमबार सर्लाहीबाट पक्राउ गरी अनुसन्धानका लागि काठमाडौं पठाइएको सर्लाहीका प्रहरी निरीक्षक प्रमोदकुमार यादवले बताएका छन ।
चेक बाउन्स काण्डमा राजपा नेपाल निकटको विद्यार्थी संगठनका अध्यक्ष मिश्रविरुद्ध पाटन उच्च अदालत ललितपुरमा मुद्धा परेको थियो । अदालतको आदेशमा महानगरीय प्रहरी टेकुले मिश्रविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सोही पक्राउ पुर्जीअनुसार मिश्रलाई पक्राउ गरिएको हो । महन्थ ठाकुर नेतृत्वको तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी निकटको विद्यार्थी संगठनको समेत मिश्र अध्यक्ष थिए ।
राजपाका नेता एवम् प्रदेश २ का मन्त्री जितेन्द्र सोनल निकट मानिने अध्यक्ष मिश्रले ठेक्का पट्टाबाट अबैध असुली समेत गर्ने गरेको आरोप लाग्दै आएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !