लोक सम्वाददाता
जनकपुरधाम, साउन २० गते ।
स्नातक तहको परीक्षा केन्द्र परिवर्तन गरेकोमा भएको विवाद हुँदा ५ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पस अगाडी परीक्षार्थीहरूले परीक्षार्थीलाई जानकारी नै नदिई परीक्षा केन्द्र परिवर्तन भएको भन्दै प्रदर्शन गरेपछि प्रहरीले अवरोध गर्न खोज्दा प्रहरी र विद्यार्थीबीच झडप समेत भएको छ ।
प्रदर्शनमा उत्रेका ५ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नरेन्द्र कर्ण, रोशन प्रधान, सुभाष यादव सहित अन्य दुई जना रहेको जनाईको छ । परिक्षार्थीलाई जानकारी नदिई स्नातक तह बिबिएस दोस्रो वर्षको परीक्षा केन्द्र परिवर्तन भएपछि प्रदर्शन गरेको बताइएको छ । पक्राउको केही घण्टापछि तिनीहरुलाई रिहा गरेको थियो ।
जनकपुरको राम स्वरूप राम सागर बहुमुखी क्याम्पसमा परीक्षार्थीको चाप बढी भएपछि थप व्यवस्थित बनाउन केन्द्र परिवर्तन गर्नुपरेको सह परीक्षा नियन्त्रक अखिलेश कुमार सिंहले संचारकर्मीसंग कुरा गर्दै बताएका छन् । उनले भने सात सय क्षमता रहेको राराव क्याम्पसमा १२ सय परीक्षार्थी भएपछि सहजताकालागि अन्य क्याम्पसहरूमा केन्द्र सारिएको हो ।
उनले यसबारे सम्पूर्ण क्याम्पसहरूमा जानकारी गराइएको समेत दाबी गर्दा विद्यार्थीहरूले परीक्षा केन्द्र परिवर्तन भएको बारे आफूहरूलाई जानकारी नभएको भन्दै परीक्षा बहिष्कार गरी नाराबाजीमा उत्रिएका थिए ।
महोत्तरीको बर्दीवासका दुई , जलेश्वरको एक र धनुषाको दुई ओटा निजी कलेजको परीक्षा केन्द्र राम स्वरूप राम सागर बहुमुखी क्याम्पसलाई तोकिएको थियो । तर व्यवस्थापनमा कठिनाइ भएपछि अन्य क्याम्पसमा केन्द्र सारिएको हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !