लोक सम्वाददाता
जनकपुरधाम, साउन ७ गते ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट प्रदेशमा सबैभन्दा बढी महोत्तरी जिल्ला प्रभावित भएको बताएका छन् ।
प्राविधिक टोली सहित महोत्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका मुख्यमन्त्री राउतले यस्तो भने । महोत्तरीको मध्य तथा दक्षिणी क्षेत्रको भंगहा नपा, बलबा नपा, महोत्तरी गा.पा., मनरा सिसवा नपा र जलेश्वर नपाको अति प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
महोत्तरी भएर बग्ने रातु खोला, जंग्हा र औक्सी नदीका कारण महोत्तरीको अधिकांश भूभागमा कटान र डुवानले अरबौ रुपैया बराबरको क्षति भएको छ । जिल्लाको स्थलगत निरीक्षण पछी जलेश्वरमा संचारकर्मीहरु संग कुरा गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश भरिमै बाढी बाट सबै भन्दा बढी क्षति महोत्तरी जिल्लामा भएको बताए ।
उनले जनजिवन सामान्य बनाउन तथा बाढी पिडितहरुलाई खाद्यान्न,स्वास्थ्य तथा अन्य विभिन्न किसिमका राहतकार्यमा लाग्न सम्बन्धित पक्षहरु संग आग्रह समेत गरे ।
मूख्यमन्त्री राउतले बाढी बाट भएको क्षतिको भर्पाइ गर्ने क्षमता प्रदेश सरकार संग नभए पनि राहतमा कुनै प्रकारको कमी हुन नदिने प्रतिबद्धता जनाए । बाढीबाट भएको क्षतिको एकीन विवरण संकलनको कार्य अन्तिम चरणमा रहेको उल्लेख गर्नु हुँदै उनले विस्थापित भएकाहरुको पुर्नवास र क्षतिग्रस्त क्षेत्रको पुनर्निमाणको लागी प्रधानमन्त्री संग भेटेर दुई दिन भित्रै छलफल गरिने समेत बताए ।
निरीक्षण टोलीमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा,मुख्यमन्त्री कार्यालयको राहत वितरण टोली र प्राविधिक टोली, समाजवादी पाटी महोत्तरीका अध्यक्ष नागेन्द्र यादव, सहित स्थानीय जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !