लोक सम्वाददाता
जलेश्वर, साउन ४ गते ।
महोत्तरी जिल्लाको भंगहा नगरपालिका २ सिग््याही स्थित सामुदायिक भवन बाढीले बगाएपछि आश्रय लिएका दलितहरु अलपत्र भएका छन् ।
सो बस्तीमा गतबर्ष नै निर्माण भएको सामुदायिक भवन शनिबार रातु नदीको बाढीले बगाएपछि बाढीले घरबार विहिन भई आश्रय लिई बसेका दलितहरु आश्रयविहीन बनेका हुन् । असार अन्तिम साताको बाढीले आफ्ना घर लडाएपछि २० घर परिवारका दलित सामुदायिक भवनमा बस्दै आएका थिए ।
गत साता आएको बाढीमा आफ्ना घर गुमाएपछि नगरपालिकामा धेरै अनुरोध गरेर सामुदायिक भवनमा आश्रय पाएका थियौं दलित बस्तीका अगुवा हिरेन्द्र महराले भन्दै आज आफ्नै आँखा अगाडि बाढीले लग्यो, अब उभिने ठाउँ पनि छैन बताए । असार अन्तिम सातामा बाढीले दलित बस्तीका २० घर ढालेको थियो ।
दलित बस्तीमा विगत आर्थिक बर्ष २०७४÷०७५ मा नगरपालिकाले सामुदायिक भवन निर्माण गरेको थियो ।
यसैबीच भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले बिभिन्न सामाजिक संघ, संस्थाको समन्वयमा आश्रयविहीन बनेका दलितका लागि राहत उद्धारको प्रयत्न भइरहेको बताएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !