लोक सम्वाददाता
जनकपुरधाम, साउन ३ गते ।
लोकसेवा आयोगले आरक्षणमा गरेको कटौती विरुद्ध प्रदर्शन गर्दा उत्रेका एक दर्जनभन्दा बढी युवालाई प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ ।
लोकसेवा आयोगको विज्ञापनमा आरक्षणमा गरिएको कटौती विरुद्ध आवाज उठाई रहेकै समयमा परीक्षा संचालन गरेको भन्दै युवाहरुले शुक्रवार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।
युवाहरुले जनकपुरधामको जनक चोकमा प्रदर्शन गर्दै समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्ष उमेश मैनालीको पुतला समेत दहन गरेका छन् । पुतला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र युवाहरु बिच केही बेर तछाडमछाड समेत भएको छ ।
प्रहरीले पुतला दहन गर्ने युवाहरुमध्ये रोशन मिश्र, राहुल राज यादव, प्रसान्त झा, किसन साह, दिनेश यादव, नविन यादव लगायत २० जनालाई पक्राउ गरेको छ ।
केही युवाहरुलाई प्रहरीले पक्राउ गरेपछि उनीहरुले प्रहरी विरुद्ध समेत नारावाजी गरेका छन् । केही युवाहरु जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी समेत प्रदर्शन गरेका छन् ।
लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनमा आरक्षण कटौती गरेको, मधेशी, थारु, जनजाती लगायतलाई उपेक्षित गरेको भन्दै विभिन्न पार्टीका भातृ संगठन, तराई मधेश राष्ट्रिय परिषद, आदिवासी जनजाति महासंघ, दलित, मुश्लिम लगायतका संघसंस्थाहरूको साझा मोर्चाहरुले ‘आरक्षण बचाउ आन्दोलन’ मूल नाराका साथ प्रदर्शन गरेका थिए ।
प्रर्दशनका सहभागिहरुले लोकसेवा विज्ञापन फिर्ता गर, लोकसेवा आयोग मुर्दावाद, समान्य प्रशासन मन्त्री मुर्दवाद, लोकसेवा आयोगका प्रमुख मुर्दावाद लगायतको नाराबाजी गर्दै विरोध प्रर्दशन गरेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !