लोक सम्वाददाता
जनकपुरधाम, असार २९ गते । गत केहीदिन देशैभरि निरन्तर रुपमा भइरहेको वर्षाले आएको बाढीबाट धनुषामा दुई जनाको मृत्यु भएको छ भने एकजना बेपता रहेको छ ।
प्रहरीले जनाए अनुसार गणेशमान चारनाथ नगरपालिकाका ५ करजनहाका एक जनाको मृत्यु भएको छ भने एक जना बेपता भएको छ । त्यसैगरी कमला नगरपालिका ईनरवामा समेत बाढीमा एकजना मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृतक दुवैजनाको शव बिहान फेला परेको छ भने सनाख्त हुन नसकेको कारण नाम ठेगान खुल्न सकेको छैन भने गणेशमान करजनहाकै भोला साह भन्ने एक व्यक्ति बेपता रहेको छ । बेपता साहको खोजी कार्य जारी रहेको छ ।
यता प्रदेश २ सरकारले बाढीमा ज्यान गुमाउनेहरुलाई ३÷३ लाख रुपैयाको दरले राहत र राहत तथा उद्धारका लागि जिल्ला विपद व्यवस्थापन समितिहरुलाई १०÷१० लाख रुपैया दिने घोषणा गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले बाढीले प्रदेशका जिल्लाहरुको जनजीवन कष्टकरले अक्रान्त बन्दै गएपछि मन्त्रिपरिषदको आकस्मिक बसेको बैठकबाट यस्तो निर्णय गरिएको जनाएको छ ।
बाढीले गर्दा धनुषाका जनकपुरधाम उपमहानगरपालिका, कमला, नगराईन, सबैला, नगराईन, क्षिरेश्वरनाथ सहितका नगरपालिका र जनकनन्दनी, औरही मुखियापट्टी मुसरहनिया गाउपालिका लगायत एक दर्जनभन्दा बढी पालिका प्रभावित भएको छ । बाढीले एकहजारभन्दा बढी घर डुबानमा परेको सयौ घर विस्थापित भएको छ भने ईनरवा स्थित तटबन्ध समेत भत्सकेको छ ।
यसैबीच आजदेखि जिल्ला स्थित विपद् जोखिम व्यवस्थापन समितिद्वारा जनकनन्दनी गाउँपालिकामा हेलिकप्टरको माध्यमले राहत वितरण कार्य शुरु भएको छ । कमला नदी र चारनाथ खोला नजिक रहेका गाउँहरु बढी प्रभावित भएको छ । जिल्लाका जनकनन्दनी र मुखियापट्टी मुसहरनिया तथा कमला नगरपालिकामा बढी जोखिममा परेको कारण राहत तथा उद्धार कार्य जारी रहेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !