लोक सम्वाददाता
वीरगंज, असार २६ गते ।
तराई मधेशको केन्द्र भनिएको प्रदेश २ अन्धविश्वासको थलो बन्दै गएको छ । जसको ज्वलन्त उदाहरण हो प्रदेशका बारा जिल्ला स्थित एक विद्यालयमा छात्राहरु बहोस हुन थालेपछि चण्डीपुजा गर्नु ।
बाराको निजगढ नगरपालिका वडा नम्बर ११ लालस्थित नेरामाविका छात्राहरु बेहोस हुनु अनौठो बिमारी देखिन थालेपछि कक्षाकोठाभित्रै ग्रह शान्ति र चण्डी पूजा गरिएको हो ।
धामीले ग्रहदशा बिग्रेर विद्यार्थी विरामी परेको बताएपछि विद्यालयले पुरोहित बोलाएर कक्षा कोठामै ग्रहशान्ति पूजा र चण्डी पुजापाठ गराएको छ । धामी झँक्रीको सल्लाहामा लागेका केही अभिभावकको अनुरोधमा विद्यार्थी निको पार्न पूजा गरिएको विद्यालयका प्रधानाध्यापक हरिनारायण लाल कर्णले संचारकर्मीसँग कुरा गर्दै बताएका छन् ।
उनले ५ जना पुरोहति बोलाएर बिहान ७ बजेदेखि ४ बजेसम्म कक्षा कोठामा नै वेद, रुद्री र चण्डी पाठ तथा पूजा गरिएको जानकारी दिए । पूजा हुंदै गर्दा पनि विद्यार्थीहरु पटकपटक बेहोस भइरहेको थियो ।
पूरोहितले प्रभावित छात्रालाई जवरजस्ति पूजाको प्रसाद खान लगाएका थिए । विद्यालय बन्द गरेर गरिएको पूजा कार्यक्रममा विरामी विद्यार्थी, व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक तथा शिक्षकको समेत सहभागिता रहेको थियो ।
शुरुमा कक्षा ४ मा अध्ययन गर्ने ३ जनामा देखापरेको सो समस्याबाट एक साताभित्र ८ जना छात्रा बेहोश भएको प्रधानाध्यापक कर्णले जानकारी दिए । छात्राहरुमा कक्षा शुरु हुने बित्तिकै रुने, चिच्याउने, उफ्रिने र एक्कासी बेहोस हुने जस्ता व्यवहार देखिएको उनले बताए ।
अन्य विद्यार्थीमा समेत प्रभावित हुनसक्ने आशंकामा अघिल्लो साता २ दिन विद्यालय नै बन्द गरिएको थियो । कतिपय अभिभावकले विद्यालयमा पिचासले बास गरेको र विद्यार्थीलाई दुःख दिएको समेत भन्दै आएका छन ।
प्राथमिक स्वाथ्य केन्द्र हरैयाका चिकित्सक राजिव सिन्हाले कुनै देवीदेवता वा पिचासका कारणले नभई मानसीक तनावका कारण किशोरावस्थाका केहीमा यस्तो समस्या देखापर्ने बताए । उनले कन्भर्शनल डिसअर्डरले प्राय किशोरीहरु प्रभावित हुने गरेको र २० बर्ष उमेर पार गरेपछि समस्या आफै निको हुने बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !