लोक सम्वाददाता
जनकपुरधाम, असार २४ गते ।
प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाम स्थित जनकपर अञ्चल अस्पतालको नजिकको बाटोका लागि प्रहरी र स्थानीयबीच झडप भएको छ ।
अस्पतालको पूर्वपट्टि साविक बाटो कायम हुनुपर्ने भन्दै स्थानीयले विरोध गर्दा प्रहरीले हो हल्ला नियन्त्रण गर्ने नाममा बलप्रयोग गर्दै स्थानीयलाई पक्राउ गर्न खोज्दा दुवै पक्षबीच विवाद हुंदा प्रहरीले स्थानीयलाई कुटपिट गरेका थिए ।
सो क्रममा स्थानीयवासीले प्रहरी र मेडिकल सुपरिटेन्डेन्टविरुद्ध नाराबाजीसमेत गरेका थिए । जनकपुर उपनमहानगरपालिका १० का वडाध्यक्ष मिथिलेष कर्णले साबिकमा पहिलेदेखि नै बाटो रहेको र उक्त विषयमा अस्पताल प्रशासनलाई समेत पत्र काटेर जानकारी गराई सकेको अवस्थामा पनि प्रहरी लगाएर सो बाटो तत्काल बन्द गराएर गलत गरेको बताए ।
अञ्चल अस्पताल पूर्व्तिर ४ देखि ६ फिटसम्म पैदल आवतजावत गर्ने बाटो रहेको स्थानीयवासीको भनाई छ । प्रशासनले बल प्रयोग गरी स्थानीयमाथि धरपकड गरे परिणाम नराम्रो हुने वडासदस्य मीनादेवी साहले चेतावनी दिएकी छिन् ।
अस्पतालको नयाँ भवन बन्न लाग्दा स्थानीयलाई अस्पताल प्रशासनको आग्रहमा उक्त बाटो केही समयका लागि बन्द गरिएको स्थानीयको भनाई छ ।
अस्पतालको आग्रहमा सुरक्षालाई ध्यानमा राखेर प्रहरी परिचालन गरिएको तर कुटपिट वा धडपकड नगरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीले दाबी गरेका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !