लोक सम्वाददाता
जनकपुरधाम, असार २४ गते ।
धनुषाको सबैलामा झुन्डिएर मृत्यु भएकी युवतीको शव लुकिछिपी जलाउन खोज्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सबैला १ की १४ वर्षिया पिंकी कुमारी यादवले आत्महत्या गरेको भनी शव गाउँबाट ३ किलोमीटर पर जलाई रहेको बेला एक्कासी प्रहरी आई पुग्दा मलामीहरु जल्दै गरेको शव छाडेर भागेका थिए ।
प्रहरीलाई शंका लागेपछि जल्दै शवलाई नियन्त्रणमा लिई पोष्टमार्टमका लागि जनकपुर अंचल अस्पताल पठाएको छ । घटनालाई आत्महत्या भनिएपनि घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको क्रममा प्रहरीले मृतकका बुवा शत्रुध्न यादव सहित ४ जनालाई नियन्त्रणमा समेत लिएको छ ।
गएराति नै ती किशोरीको शव घरमै झुन्डिएको अवस्थामा फेला परेको थियो । रातिमै परिवारजनले लुकिछिपी शव जलाउन खोजेको थियो । गस्तीमा रहेको इलाका प्रहरी कार्यालय सबैलाका टोलीले धूवाँ पुताइरहेको देखेपछि गएर सोध्दा यसबारे थाहा पाएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !