लोक सम्वाददाता
जनकपुरधाम, असार २२ गते ।
भ्रष्टाचारको थलो बनेको जनकपुरधाम उपमहानगरपालिकाले कार्यालय र सफाईको गाडी खरीद तथा मरम्मत सम्भारको नाममा करोडौ रुपैया भ्रष्टाचार गरेको छ ।
गएको असार १३ गते सम्पन्न नगर सभामा प्रस्तुत गरिएको आय व्यय विवरण अनुसार सवारी साधन खरीदमा मात्रै ६ करोड ६९ लाख २९ हजार ३ स ३७ रुपैया र सफाईतर्फ सवारीको मरम्मत सम्भार मेशनरी खरीदमा ४९ लाख ८२ हजार ७ सय २५ रुपैया खर्चेको छ ।
सवारी खरीद मध्ये ३ करोड १९ लाख, २९ हजार, ३ सय ३७ रुपैया खर्चेको हिसाब देखाइएको छ । तर साढे ३ करोड पुससम्म अनुमानित व्ययमा देखाइएको छ । तर बिल भर्पाई मिलान गर्न ढिलाई र विवाद उत्पन्न हुन सक्ने डरले उपमहानगरपालिकाले जेठ मसान्तसम्मको खर्चमा नदेखाएको श्रोतको दाबी छ ।
शहरमा पूर्वाधार विकास निर्माण गर्नका लागि आउने पूँजीगत बजेटबाट सवारीसाधन खरिदमा खर्च गरिएको देखाइएको तर पछि विवाद हुँदा त्यसलाई नगरसभा गर्ने बेलामा प्रशासनिक खर्चमा समावेश गरेको छ ।
श्रोत अनुसार उपमहानगरपालिकाका लेखापाल शाखामा टिपर, टयाक्टर र कन्टेनर मैजिक सवारी खरिद गरिएकामध्ये सफाईतर्फ ४ वटा टिप्परको ८८ लाख रुपैयाँ, ४ वटा ट्रयाक्टरको ५० लाख रुपैयाँको बिल भर्पाइ छ तर कन्टेनरको बिल आएको छैन ।
त्यसैगरी प्रकासकीय अधिकृत चढ्ने गाडी र वडा अध्यक्ष चढने मोटरसाइकल खरीदको बिल भपाई मात्रै छ । जसमध्ये प्रशासकीय अधिकृत चढने गाडीको ३६ लाख ३९ हजार रुपैयाँ रहेको जनाइएको छ भने २५ जना वडाध्यक्षका लागि प्रतिमोटरसाइकल २ लाख ७४ हजार ७ सय रुपैयाँका दरले खरिद गरेर भुक्तानी गरिएको बिल भर्पाई रहेको बुझिएको छ ।
उपमहानगरको जिन्सी शाखाका प्रमुख गणेश यादवका अनुसार २५ जना वडाध्यक्षको लागि मोटरसाइकल खरिद गरिएको भएपनि वडा नम्बर १० का वडाध्यक्ष मिथिलेशलाल कर्णले मोटरसाइकल लिएका छैनन् ।
सवारीसाधन हुँदाहुदै पनि उपमहानगरले सवारीसाधन भाडामा समेत लिएर लाखौं रुपैयाँ खर्च गरेको छ । चालू आर्थिक वर्षको चैत्र महिनासम्म चालू खर्च अन्तर्गत सवारी भाडामा मात्रै १ लाख ७८ हजार रुपैयाँ खर्च गरिएको छ ।
बोर्ड प्रतिनिधिहरुका अनुसार आफुहरुले पटक पटक नगरपालिकाको आय व्यय माग्दा समेत नदिने गरिएको छ यसको प्रमुख कारण नै अनियमितालाई जनाइएको छ । विभिन्न योजनाहरुमा अनियमितता भईरहेको विरोधमा नेपाली काग्रेससंग आवद्ध बोर्ड सदस्यहरुले विरोध जनाउंदै आएका छन । उनिहरुले नगरपरिषदमा आय व्ययको पुर्ण विववरण सार्वजनिक नगरेको कारणले गर्दा विरोध जनाउदै आएको वडा नं. ९ का अध्यक्ष परमेश्वर साहले बताएका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !