लोक सम्वाददाता
वीरगञ्ज, असार २१ गते ।
प्रदेश २ को उद्योग नगरको रुपमा परिचित रहेको पर्साको वीरगन्ज महानगरपालिका स्थित एक उद्योगमा भीषण आगलागी भएको छ ।
महानगरपालिकाको वडा नं. २१ लिपनीवितास्थित सुशील वनस्पति उद्योगमा भएको भीषण आगलागीमा करोडौको क्षति भएको छ । उद्योगमा कार्यरत कर्मचारीका अनुसार शनिबार बिहान करिब १ बजे विजुली सर्ट भई आगलागी भएको थियो ।
वीरगन्ज महानगपालिकाको बारुण यन्त्र, पोखरीया नगरपालिकाको वारुण यन्त्र, कलैया, जितपुर, सिमरा एयरपोर्ट र नेपाल आयल निगम अमलेखगंजको बारुण यन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा समाचार लेख्दासम्म आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको थियो ।
आगलागीबाट उद्योगका मेसिनहरु र तयारी अवस्थामा रहेको मालसमान करोडौ रुपैया बराबरको धनमानल पूर्ण रुपमा जलेर नष्ट भएको छ । उद्योगको गोदाममा स्टोर गरिएर राखिएको ध्यू, तेल र मैदा लगायतको समान पनि जलेर नष्ट भएको छ । गोदाममा ध्यू र तेलको मात्रा बढी रहेकाले आगलागी नियन्त्रणमा लिन कठिनाई भइरहेको बताइएको छ ।
उद्योगपति एवं वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले संचालन गरेको सुशील वनस्पती प्रालि उद्योगले राजहंश ध्यू, तेल, मैदा लगायतका वस्तुहरु उत्पादन गर्दै आएको थियो । आगलागीमा करोडौं क्षति हुन सक्ने अनुमान गरिए पनि यर्थात विवरण भने आएको छैन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !