लोक सम्वाददाता
जनकपुरधाम, असार २१ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकको भ्रष्टाचार मुद्दामा मालपोत कार्यालय धनुषाका तात्कालिन अधिकृत रामबाबु मण्डलको नाम पनि मुछिएको छ ।
अनुसन्धानको क्रममा अख्तियारले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालय काठमाडौंका नायब सुब्बा ललित झाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेपछि अर्का कर्मचारी रामबाबु मण्डलमाथि अनुसन्धान थालिएको श्रोतले जनाएको छ ।
धनुषामा कार्यरत रहेका अधिकृत मण्डललाई एक महिनाअघि जिल्ला मालपोत कार्यालय सिराहामा सरुवा गरिएको थियो । त्यसलगतै सर्लाहीको धनकौल गाउँपालिकामा उनको सरुवा भयो । तर हालसम्म हाजिर भएको छ ।
विमानस्थल कार्यालय काठमाडौंका नायब सुब्बा ललित झाले पनि पाठकका लागि मण्डलमार्फत पैसा उठाउने कार्य गर्दै आएको अनुसन्धानमा देखिएको श्रोतको दाबी छ । श्रोतका अनुसार मण्डललाई मधेसी मूलका कर्मचारीसँग पैसा उठाउने जिम्मेवारी दिइएको थियो । उनले पाठकको आडमा जिल्ला मालपोत धनुषामा कार्यरत रहँदा दर्जनौं अनियमित काम गरेको स्रोतले जनाएको छ ।
धनुषा मालपोतमा कार्यरत रहेको बेला मण्डलले विवादित जग्गा पास गराएर लाखौं रुपैयाँ कमाएको पाठक प्रकरणसँग जोडेर अनुसन्धान गरिएका व्यक्तिहरुबाट खुलेको अखितयारको दाबी छ ।
पाठकले निजामती प्रशासनमा रहेका केही व्यक्तिलाई काठमाडौ स्थित आफ्नो निजी कार्यालयमा राखेर विभिन्न व्यक्तिसँग मोलमोलाइ गर्ने र रकम उठाउने गरेको उजुरी अख्तियारमा परेपछि छानबिन सुरु भएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !