लोक सम्वाददाता
जनकपुरधाम, असार २० गते ।
प्रदेश २ का राजधानी जनकपुरधाममा कैनन कम्पनी प्रिन्टरको नक्कली कार्टिज विक्री वितरण भइरहेको देखिएको छ ।
शुक्रवार जिल्ला प्रशासन कार्यालय धनुषाले उद्योग विभागको निर्देशनमा जनकपुरधाम स्थित कार्टिज विक्रेता कम्प्यूटर पसलहरुमा अनुगमन गर्दा नक्कली कार्टिज फेला पारिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहको नेतृत्व जनकपुरधाम स्थित आधा दर्जनभन्दा कम्प्यूटर पसलमा अनुगमन गरिएको हो ।
ती सबै पसलमा मेड इन चाइना र भारतीय हुबहु लोगो र प्याकिंग भएको नक्कली कार्टिजहरु विक्री वितरण भइरहेको टोलीले फेला पारेको थियो ।
सो टोलीले बिना कम्प्यूटरबाट १२, मिथिला कम्प्यूटरबाट ६ र विशाल कम्प्यूटरबाट २ गरी अन्य पसलहरुबाट करीब दुईभन्दा बढी नक्कली कार्टिज बरामद गरेको छ । सो टोलीले नक्कली कार्टिज मध्येबाट चेकजाँचका लागि केही संख्यामा लगेको छ । साथै विक्री वितरण गर्ने कम्प्यूटर पसलेहरुलाई दुई दिनभित्र कागजात सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् ।
सो अनुगमन टोलीले अधिकृत साह सहित, कैननका नेपाल अधिकृत विक्रेताका प्रतिनिधि दिपक न्यौपाने, घरेलु तथा साना उद्योगका जितेन्द्र यादव र प्रहरी प्रतिनिधिको सहभागिता रहेको थियो ।
नेपाल स्थित कैनन कम्पनीका अधिकृत विक्रेताले उद्योग विभागमा जनकपुर क्षेत्रमा आफ्नो कम्पनीको नक्कली कार्टिज विक्री वितरण भइरहेको भन्ने उजुरी दिएका थिए । सोही आधारमा मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई अनुगम गर्न निर्देशन दिएका थिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !