जनकपुरधाम, जेठ ९ गते ।
जनकपुरधाममा डकैती गर्न नपाउँदै भारतबाट आएका डाँका समूह नेपाल प्रहरीको फन्दामा परेका छ्न ।
छिमेकी राष्ट्र भारत बिहार राज्यको समस्तीपुर जिल्लाबाट गएराति जनकपुरधाम स्थित विहारकुण्ड मन्दिरमा ८ जनाको समूहमा डकैती गर्न आएकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश २ प्रहरी कार्यालयको संयुक्त प्रहरीले पक्राउ गरेको छ ।
तिनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुवैतर्फबाट गोली हानाहान समेत भयो र सो क्रममा प्रहरीको गोली लागेर डाकाहरु मध्येका रवि मल्लिक डोम घाइते हुन गयो । हाल उनको उपचार जनकपुर अं्रचल अस्पतालमा भइरहेको जनाइएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीवार एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।
पक्राउ पर्नेहरुमा भारत बिहार राज्य समस्तीपुर जिल्ला सिमरी विद्यापति नगरका वर्ष २० का साहिल रजक, गदोपुर वर्ष २० का रवि मल्लिक डोम, पटौरीका वर्ष २४ का अजितकुमार सिंह, भगवानपुरका वर्ष २८ का सुजितकुमार राय, महोदीनगर वर्ष ३० का अमितकुमार सिंह, सोही ठाउँका वर्ष २० का अमितकुमार यादव, मधुबनी जिल्ला साहरघाटका वर्ष ३२ का रंजितकुमार भगत र ३८ वर्षिय संजयकुमार सुमन रहेको छ ।
पक्राउ परेका डाँकाहरुको साथबाट प्रहरीले यूसए मेड इन भएका पेस्तोल एक थान, कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने गोली सहित खुकुरी एकथान समेत गरेको छ ।
यसका साथै डाकाहरुले प्रयोग गरेको बीआर ३२ एस ०८९५ नं. पल्सर मोटरसाइकल, बीआर ३२ आर ८२१३ नं. ग्यालमर मोटरसाइकल, बीआर ०७ एजी १५८१ नम्बरको स्कूटर समेत गरी तीन वटा भारतीय नम्बरको गाडी समेत बरामद गरेको छ ।
डाँका अघि नै पुगे प्रहरी
प्रायः घटनामा के देखिन्छ भने घटना घटिसकेपछि प्रहरी पुग्ने गर्छन । तर बुधवार राति भएको घटनामा डाँका पुग्नु अघि नै प्रहरी पुगेर सुरक्षार्थ तैनाथ थिए ।
घटना बारे जानकारी दिदैं प्रहरी उपरिक्षक खनालले भने विहारकुण्ड मन्दिरका महन्थ नारायण शरण दासले जमिन बेचेर रुपैया मन्दिरमा राखेको छ खबर पाएपछि बुधवार दिउँसै ती डाँकाहरु डकैती गर्न जनकपुरधाम आएका थिए ।
उनले अगाडि भने घटना स्थल जानुअघि डाकाहरुले योजना बनाइरहेको बेला प्रहरीलाई गोप्य सूचना आयो विहारकुण्ड मन्दिरमा डकैती हुनेवाला छ, त्यही बेला प्रहरी टोली पुगेर कमाण्ड सम्हालिसकेका थिए । योजना अनुसार डाका समूह मन्दिर भित्र छिर्नै लाग्दा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।
तर प्रहरीलाई देखेपछि डाका समूहले गोली फायर गर्न थालेपछि प्रहरीले पनि जवाफी कारवाहीमा गोली चलायो, सोही क्रममा एक डाका घाइते समेत भयो । घटनास्थलबाट मात्र ६ जना डाका समातिएको थियो । पप्पु भन्ने संजयकुमार भगत घटना स्थलमा नगई होटलमै बसेको थियो, डाका पक्राउ परेको हल्ला फैलिएपछि भाग्न लाग्दा महोत्तरीको मटिहानीबाट प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरु विरुद्ध चोरी डकैती मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको र अनुसन्धानको क्रममा होटल संचालक प्रहलाद साहलाई समेत नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक खनालले बताएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !