जनकपुरधाम, जेठ ५ गते ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीमा एकमात्र अध्यक्ष र महाधिवेशन ३ गर्ने प्रावधान ल्याएको छ ।
राजपा नेपालको संशोधित विधानमा यस्ता व्यवस्था ल्याइएको छ । शनिवार अबेराति सम्पन्न अध्यक्ष मण्डलको बैठकबाट विधानको संशोधित धारा ३१ (१२) बमोजिम महाधिवेशन पछि एकमात्र अध्यक्ष रहने व्यवस्था गरिएको हो । हाल सो पार्टीमा संयोजक सहित ६ सदस्यीय अध्यक्ष मण्डल रहेको छ ।
संयोजक शरतसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न सो बैठकमा अध्यक्ष प्रणाली सहित विधानका अन्य बुँदाहरु पनि बैठकबाट संशोधन गरिएको हो । दफा ३१ (१०) अनुसार २ वर्षमा हुने भनिएको महाधिवेशन अब ३ वर्षमा गर्ने प्रावधान राखिएको छ ।
जेठ २ गतेदेखि शनिबार अबेरसम्म चलेको बैठक पश्चात जारी प्रेस विज्ञप्तिमा संशोधन गरिएको दफा १० (ङ) अनुसार तल्लो तहका निर्वाचित सदस्यले माथिल्लो तहमा उम्मेदवारी दिंदा तल्लो तहको पदबाट राजीनामा दिनुपर्ने, दफा ७ (२) बमोजिम अब उपरान्त निर्वाचित वडा सदस्य तथा पदाधिकारीहरुलाई पनि सक्रियता लिनुपर्नेछ । कुनैपनि तह वा स्तरमा समिति गठन गर्दा एकीकृत ६ वटै दलको सहमति भन्ने प्रावधान हटाइएको छ ।
चक्रीय प्रणाली अनुसार भोलि जेठ ६ गतेदेखि पार्टीको अध्यक्ष मण्डलको संयोजक अनिल कुमार झा हुने बैठकले निर्णय समेत गरिएको विज्ञप्तिमा जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !