लहान, जेठ ३ गते ।
सिरहामा गाउँलेहरुले चोरीको आरोपमा एक सैनिक जवानलाई कुट्टा कुट्दै मारेका छन् ।
जिल्लाको बरियारपट्टी गाउँपालिकामा चोरी आरोपमा गाउँलेबाट कुटिएका सोही गाउँपालिका ४ सोहनपुर बस्ने २२ वर्षिय सैनिक जवान अनिस कुमार सिंहको उपचारको क्रममा मृत्यु भएको छ ।
स्थानीय तेनुवापट्टी गाउँका विरेक्षण यादवको घरमा चोरी गरेको आरोपमा सैनिक जवान सिंहलाई विजुली पोलमा बाधेर नाङ्गो पारी कुटपिट गरेपछि उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पतारीले जनाएको छ ।
गत वैशाख २८ गते शनिवार राती १२ बजे आधारभुत प्राथमिक विद्यालय पुर्व उत्तरमा रहेको क्लबको घर स्थित विजुली पोलमा बाँधिएर भएको कुटपिटबाट गम्भीर घाइते भएका सिंहको उपचारका क्रममा जेठ १ गते विरेन्द्र सैनिक अस्पताल छाउनी काठमाण्डौमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट मृत्यु भएको विरोधमा दोषीलाई पक्राउ गरी कडा कारवाहीको माग गर्दै स्थानीयबासीले सिरहाको जिरोमाइल–बरियारपट्टी सडक खण्डमा विहान देखि साँझसम्म सडक अवरुद्ध गरेका थिए ।
सडक अवरुद्धको साथै प्रहरी समेत मुकदर्शक बनेको भन्दै ईलाका प्रहरी कार्यालय बरियारपट्टीलाई समेत घेरा बन्दीमा लिएको थियो । घेरा वन्दीमा लिएपछि थप सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयबाट आएका प्रहरी र स्थानीय बिच ३ बुद्धे सहमतिपछि घेरा वन्दी र सडक अबरुद्ध खुलेको छ ।
छलफलमा मुकदर्शक बनेका प्रहरीलाई कारवाही, दोषीलाई हदै सम्मको कारबाही, तीन दिन भित्र अपराधीलाई पक्राउ गरी कारबाही अगाडी बढाउने सर्तपछि सडक अवरुद्ध खुलेको ईलाका प्रहरी कार्यालय महेश्पुर पतारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !