जनकपुरधाम, वैशाख ३१ गते ।
प्रदेश २ सरकारले बजेट खर्च गर्न सकेन, अनियमित रुपमा रकमान्तर गरियो र प्रतिपक्षी दललाई खुश पार्न योजनाको नाममा पैसा बांडने खेल भएको भनी प्रदेश सरकार विरुद्ध सत्तापक्षकै साझेदार खनिएका छन् ।
मंगलवार प्रदेशसभा २ को बसेको बैठकमा सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रदेश सभा सदस्य मनिष सुमनले विशेष समय बोल्दै अवरुद्ध प्रदेश सभा खोलाउन प्रदेश सरकार प्रतिपक्षी दललाई योजनाको नाममा पैसा बांडने काम गरेको भनी खनिए ।
उनले संसदीय बजेट छंदाछंदै प्रदेश सरकारबाट स्थानीय तहमा जाने बजेटमा पनि सम्बन्धित प्रदेश सभा सदस्यको अग्राधिकार दिनु र विनियोजित बजेटको योजनामा प्रतिपक्षी दलको चाहना अनुसार बाँडफाँड गरेर अवरुद्ध संसद खोलाउनु गलत हो भनी प्रतिपक्षी दल र प्रदेश सरकारसँग जवाफ मांगेका छन् ।
उनले कांग्रेस संघीय संसद जस्तै प्रदेश सभामा पनि योजना र पदीय बाँडफाँडका लागि विभिन्न बहाना बहाना बनाएर संसद अवरोध गर्दै आएको र प्रदेश सभामा पनि त्यही हवीगत अपनाएको आरोप लगाउंदै कुन आधारमा संसद खोलाइयो भन्ने जवाफ कांग्रेस सँग माँग गरेका थिए ।
प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता समेत रहेका सदस्य रामसरोज यादवले प्रदेश सभा सदस्य सुमनको प्रश्नको जवाफ दिदै भने हामीले कुन आधारमा अवरुद्ध सभा खोलाएका हौ त्यो हामी सँग होइन तपाई आफ्नै पार्टीका सरकारसँग जवाफ मांग्नुस् ।
साथै उनले जनता आवासमा गरिएको एकलौटी, विपी उद्यान जग्गा प्रदेश सरकारद्वारा गरिएको अतिक्रमण र पालिकामा जाने योजना र विनियोजित योजनामा विभेद गरिएको विरुद्ध सच्चाउने आश्वासन सहितको सहमति पश्चात हामीले प्रदेशको समृद्धिका लागि अवरुद्ध संसद खोलाएको हौ भने ।
त्यस्तै नेकपाका प्रदेश सभा सदस्य मन्जु यादव पनि प्रदेश सरकार विरुद्ध खनिदै पालिका तहमा जाने सहितका योजना र पदीय बाँडफाँडमा समानुपातिक भनेर आफूहरुलाई प्रदेश सरकारले हेपेको आरोप लगाईन ।
राजपाकै अर्का सदस्य डा. रिना यादवले प्रदेशमा बढदै गएको महिला हिंसा घटनाप्रति प्रदेश सरकार गम्भीर नरहेको आरोप लगाउंदै हामी को सँग जवाफ मांग्ने, कुन निकाय जवाफदेही भनी प्रदेश सरकारसँग प्रति प्रश्न गरिन् ।
मुख्यमन्त्री राउतले सदस्यहरुबाट गरिएको आलोचनाको जवाफ दिदै प्रदेश सरकारबाट बजेटको निति तथा कार्यक्रम, जनता आवास कार्यक्रम लगायतका कुरामा गलती भएको स्वीकार गरे । उनले आगामी दिनमा यी गलती सच्याएर सबै सदस्यलाई समेटेर जाने प्रतिबद्धता जनाए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !