काठमाडौ, वैशाख ३० गते ।
अन्तरवार्तामा आफ्ना केन्द्रिय अध्यक्षलाई दुव्र्यवहार गरिएको भन्दै उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वका समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा सोमबार दिउँसो तोडफोड गर्दै अन्तरवार्ता लिने पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छ्न ।
वैशाख २९ गते एभीन्यूज टीवी च्यानलमा अन्तरवार्ताको क्रममा कार्यक्रम संचालक शुशिल पाण्डेले आफ्ना अध्यक्षलाई अन्तरवार्ता लिने बहानामा दुव्र्यवहार गरेको भन्दै समाजवादी पार्टीका कार्यकर्ताहरुले ब्यूरो कार्यालयमा कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर गई तोडफोड गरेको आरोप लगाइएको छ ।
एभिन्युजकी वीरगञ्जस्थित पत्रकार मुस्कान श्रेष्ठले भने ‘हामी काम गरिरहेका थियौं, करीब साढे १२ बजेतिर मुखमा कालो बाँधेका केही मानिसहरू आएर तोडफोड गरेको हो । सिसा फुटाए अफिसको ब्यानर पनि च्यातिदिए, तिनीहरु समाजवादी पार्टीका कार्यकर्ता हुन् कि जस्तो लागेको छ ।
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज टेलिभिजनमा पाण्डेले सकस राजनीति कार्यक्रम मार्फत अन्तर्वाता लिएको थियो । उक्त अन्तर्वार्तामा प्रस्तोतासँग भनाभन भएपछि यादव माइक निकालेर बीचैमा कार्यक्रम छोडेर बाहिर निस्केका थिए ।
सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भएपछि समाजवादी पार्टीका कार्यकर्ताले त्यसैको आक्रोशमा वीरगञ्ज कार्यालय तोडफोड गरेको एभिन्युज टेलिभिजनको दाबी रहेको छ ।
यसैबीच कार्यक्रम संचालक पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ । सोही अन्तर्वार्ताको विषयलाई लिएर पत्रकार पाण्डेमाथि ज्यान मार्ने धम्की आएको एभिज्युज टेलिभिजनले जनाएको छ ।
आफूलाई समाजवादी पार्टीका कार्यकर्ता भन्दै नेपाल टेलिकमको ९८५१००५१८० नम्बरको पोस्टपेड मोबाइलबाट पाण्डेलाई ज्यानमार्ने धम्की आएको एभिज्युज टेलिभिजन व्यवस्थापकको भनाई छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !