जनकपुरधाम, वैशाख २२ गते ।
बलात्कार आरोपीलाई बचाउन खोजेको भन्दै धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको कारण सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
गत साता महेन्द्रनगरकी एक १४ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रामपुकार साहलाई बचाउन सबूत प्रमाण मेटाउनुका साथै प्रहरीले कारवाही गर्न ढिलाई गर्दै आएको आरोप लगाउंदै आइतवार दिउंसो महिला अधिकारकर्मी र आफन्तसहित स्थानीय प्रदर्शनमा उत्रेका हुन् ।
प्रदर्शनकारीले पीडित बालिकालाई न्याय देउ, आरोपीलाई कडा कारवाही गर नाराबाजी सहित प्रदर्शन गर्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडि नै चक्काजाम समते गरेका छ्न । चक्काजाम खोलाउन गएका प्रहरी उपर प्रदर्शनकारीले ढुंगामुढा समेत प्रहार गरेका छ्न । सोे प्रदर्शनले गर्दा पुर्व पश्चिम जाने सबै सवारी साधन अवरुद्ध भएको छ ।
प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले ढुँगामुढा प्रहार गरेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा समान्य क्षति पुगेको हो । ढुँगा प्रहारले प्रहरी कार्यालयको सिसाको झयाल फुटाएको छ भने प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको छ ।
महिलाहरुको ढुँगामुढापछि प्रहरीले समेत बचाउ गर्दै लाठीचार्ज गर्दा केही बेर समान्य झडप भएको जनाइएको छ । महिलाहरु सहित प्रदर्शनका उत्रेका प्रदर्शनकारीहरुले प्रहरी कार्यालय उपर ढुँगामुढा प्रहार गर्न थालेपछि स्थिति नियन्त्रणमा लिनको लागि समान्य लाठीचार्ज गर्नुपरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
गत दुई दिनअघि पनि प्रहरीले घटनास्थलमा सबूतको तौरमा खिचिएका फोटोहरु मेटाएको आरोप लगाउंदै स्थानीयले प्रदर्शन गरेको थियो तर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले फोटो मेटाउने प्रहरीलाई कारवाही र बलात्कार आरोपीलाई चाँडै कारवाही गर्ने आश्वासन दिएपछि अवस्था साम्य भएको थियो ।
जनकपुर अंचल अस्पतालमा उपचारमा रहेकी पिडीत बालिका डिप्रेशनमा गई अवस्था झन बिग्रिदै गएपछि थप उपचारका लागि शनिवार नै काठमाडौ रेफर गरिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !