जनकपुरधाम, वैशाख २० गते ।
प्रदेश सभा २ को बैठक प्रतिपक्षी दलका सदस्यहरुले गरेको अवरोधका कारण अनिश्चितकालका लागि स्थगित भएको छ ।
शुक्रवार बैठक शुरु हुने बितिकै प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसका सदस्यहरुले संयुक्त रुपमै प्रदेश सरकारले मनमानी रुपमा जनता आवास कार्यक्रम संचालन र बजेट विनियोजन तथा रकमान्तर गरेको आरोप लगाउंदै सरकारले पारदर्शी नबनाएसम्म बैठक संचालन हुन अडान लिदैं अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।
प्रदेश सरकारले विगतमा गरेका सहमति कार्यान्वयन, अव्यवस्थित रुपमा गरिएको बजेट विनियोजन तथा रकामान्तर, विभिन्न योजना गरिएको अनियमितता, विपी उद्यानबारे स्पष्टीकरण र जनता आवास कार्यक्रम संघीय सरकारको मापदण्ड अनुसार संचालन हुनुपर्ने मांग कांग्रेसका उपेन्द्र कुशवाहाले गरेका थिए ।
बैठकको अध्यक्षता गरेकी उपसभामुख उपमा देवले प्रतिपक्षी दलका सदस्यहरुलाई पटक पटक बस्न आग्रह गरेपनि बैठक चल्न नदिने भन्दै उभेर अवरोध गरेपछि अर्को सूचना प्रकाशन नहुञ्जेलसम्म अनिश्चितकालका लागि स्थगित गरेकी छिन् ।
यसअघि प्रदेश सरकार र सत्तारुढ दल फोरम तथा राजपाका प्रदेश सभा सदस्यहरुले प्रतिपक्षी दल सभा अवरोध गर्ने थाहा पाएपछि तिनीहरुलाई सहमतिमा तीन घण्टासम्म कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा प्रयास गरेपनि सफल भएन ।
प्रतिपक्षी दलका सदस्यहरुको अडानका बावजूद बैठक संचालन भयो तर मुख्यमन्त्री राउत, भौतिक पूर्वाधार तथा विकास मन्त्री बैठकमा सहभागी भएन अन्ततः बैठक अनिश्चितकालिका लागि स्थगित गरियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !