जनकपुरधाम, वैशाख १३ गते ।
पटक पटक सारिदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन अब आउंदो कातिकमा हुने भएको छ ।
गत ८ वैशाखदेखि ६ दिनसम्म राजपाको केन्द्रिय कार्यालयमा चलेको बैठकबाट नयाँ नेतृत्वको लागि पार्टीको महाधिवेशवन आउंदो कात्तिक २८ गतेदेखि ३० गतेसम्म गर्ने निर्णय गरिएको छ ।
वैशाख महिनामै गरिने भनिएको महाधिवेशन तयारी नपुगेको भन्दै शुक्रबार सम्पन्न राजपा पदाधिकारी समितिको बैठकबाट कात्तिक महिनाका लागि सारिएको बैठकमा सहभागी महासचिव राजीव झाले जनाएको छ ।
महाधिवेशनका लागि महन्थ ठाकुरको संयोजकत्वमा रहेको पुरानै महाधिवेशन मूल समितिलाई यथावत राखि सबै पदाधिकारी सम्मलित महाधिवेशन तयारी समिति समेत गठन गरिने निर्णय गरिएको बैठक पश्चात जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
राजपाले सहअध्यक्ष लक्ष्मण लाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ भने सो समितिमा सवेन्द्रनाथ शुक्ल, मानधोज ब्लोन तामाङ, मालामति राना थारु, राजकुमार थापा, केशव झा, रामलाल सुतिहार, हरेन्द्र यादव र मो.अकबाल अहमदलाई सदस्य राखिएको छ ।
बैठकबाट सर्वोच्च अदालतले ३४ हजार नागरिकतावाहकका सन्तानलाई तत्काल वंशजको नागरिकता वितरण नगर्न सरकारको नाममा गरेको अन्तरिम आदेशप्रति राजपाले आपत्ति समेत बैठकबाट जनाएको छ ।
त्यस्तै देशव्यापी रुपमा आन्दोलन गर्ने निर्णय समेत बैठकबाट गरिएको छ । रेशम चौधरी सहित आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेज, संविधान संशोधन, प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पत्र बनाउन अधिकार हस्तान्तरण गर्नुपर्ने तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने सहितका माग अघि सार्दै राजपाले आन्दोलनको निर्णय गरेको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !