जनकपुरधाम, वैशाख १३ गते ।
धनुषाको विदेह नगरपालिका तिनकौरिया स्थित बहुमुखी क्याम्पसमा स्थानीय नियम विपरित प्रधानाध्यापक नियुक्त गर्न खोजिएको भन्दै नाराबाजी गरेपछि विवाद उत्पन्न भएको छ ।
कानून विपरित स्थानीय अभिभावकले मेयर बेचन दास र वडा अध्यक्ष विनोद गोहितमानले दादागिरी शैलीमा नयाँ प्रधानाध्यापक नियुक्त गर्न खोजेको भन्दै विद्यालय परिसरमा चर्को नाराबाजी गरेका थिए । दुवै पक्षबीच विवाद बढदै जाँदा अवस्था तनाव्रस्त बन्न पुगेको थियो ।
विद्यालय व्यवस्थापन समिति गठनको बैठक अघि नै मेयरले नयाँ प्रअ नियुक्त गर्न लागेको स्थानीयले विरोध जनाएका हुन । प्रधानाध्यापक पवन कुमार मण्डल काम विशेषले बाहिर गएपछि मेयर दासले नयाँ प्रधानाध्यापक नियुक्त चांजोपांजो मिलाएर बैठकको मिति पटक पटक सार्दै आएको आरोप लगाए ।
उनले भने आफूलाई काज सरुवा गरी ५ दिन अगाडि स्थायी भएका विद्यालयकै शिक्षक कुलदिप यादवलाई निमितको रुपमा नयाँ प्रधानाध्यापक बनाउन खोजिएको कारण अभिभावकहरुले विरोध जनाएको हो । कानूनी प्रावधान अनुसार नमूना विद्यालयका लागि कम्तिमा ५ वर्ष स्थायी भएका शिक्षक मात्रै प्रअ बन्न पाउनेछ ।
अभिभावकहरुले जनाए अनुसार गत चैत्त २८ गते नै एक पटक अभिभावक भेला बोलाइएको थियो । त्यसबेला मेयरले बैशाख १३ गते शुक्रवारका लागि बैठक सारेको थियो ।
आजपनि बैठक शुरु हुने बितिकै मेयर र वडाअध्यक्षले मण्डललाई काज सरुवा गरिएकोले निमित नयाँ प्रअ नियुक्त भएपछि अर्को मितिमा बैठक गर्ने भनेपछि विवाद उत्पन्न भएको थियो । प्रहरीले दुवै पक्षलाई सम्झाई बुझाई तनावग्रस्त अवस्था साम्या पारेको छ ।
प्रअ मण्डलले संचारकर्मीसंग कुरा गर्दै भने सर्वोच्च अदालतको फैसला अनुसार कुनै पनि स्थानीय तहले विद्यालयका कुनैपनि शिक्षकलाई सरुवा, बढुवा वा नियुक्ती गर्न पाउने छैन, तर मलाई प्रअ पदबाट हटाउन काज सरुवाको षडयन्त्र मेयरले रचेको हो ।
तर मेयर दासले प्रधानाध्यापक मण्डललाई काज सरुवामा पठाइएको सकिएको कारण स्वतः कुलदिप निमित प्रअ बन्न गएको हो, आफूले बनाएको आरोप निराधार गलत हो बताएका छन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !