जनकपुरधाम, चैत २१ गते ।
प्रहरीले प्रदेश २ मा एसईई परिक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा संलग्न पक्राउ परेकालाई सार्वजनिक गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा एक पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न भएकाहरुको विवरण सार्वजनिक गरेका हुन् । पक्राउ पर्नेहरुमा एक शिक्षक सहित ६ जना रहेको बताइएको छ ।
परिक्षा हुनु अगावै विज्ञान र समाजिक अध्ययन विषयको प्रश्नपत्र बाहिरिएर समाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको आरोप उनीहरुमाथि रहेको छ ।
पक्राउ पर्नेहरुमा राजविराजका मनोज यादव, विष्णुदेव यादव, राजेश यादव, उमेश यादव, ब्रह्मदेव सुनरैत र दीपेन्द्र कुमार मण्डल रहेको छ । आरोपित मध्ये मनोज यादव शिक्षक हुन् भने ब्रह्मदेव र दीपेन्द्र प्रहरी जवान भएको बताइएको छ । ती प्रहरी जवान मध्ये दिपेन्द्र आफै परिक्षार्थी हुन भने त्यसलाई ब्रम्हदेवले प्रश्नपत्र बाहिरिएर मोबाइलको मैसेन्जर मार्फत सहयोग गरेको थिए ।
ब्रम्हदेवले प्रश्नपत्र राखिएको स्थानबाट निकालेर फोटो खिची दाइ विष्णुदेव यादवलाई पठाएका थिए । विष्णुदेवले शिक्षक मनोजलाई सामाजिक सञ्जालमार्फत प्रश्नपत्रको फोटो पठाएका थिए र, मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो । सोही क्रममा ती मध्ये कुनै एक व्यक्तिले समाजिक सञ्जालमा अपलोड गरी घटना सार्वजनिक गरेको थियो ।
उनीहरुबाट बरामद मोबाइलको प्राविधिक विश्लेषण भइरहेको छ भने सो घटनामा प्रश्नपत्र लेनदेनका क्रममा एक हजार रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म लेनदेन भएको देखिएको प्रहरीको दाबी छ ।
चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुअगावै उनीहरुले विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिकगरेका थिए । प्रश्नपत्र आउट भएको घटनालाई चर्को आलोचना र विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि प्रदेश २ का बांकी परिक्षाहरु स्थगित गरिएको थियो ।
स्थगित परिक्षा शुक्रवार २२ गतेदेखि नियमित रुपमा पुनः संचालन हुने भएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !