जनकपुरधाम, चैत २१ गते ।
शुक्रवारदेखि संचालन हुन गइरहेको प्रदेश २ को स्थगित एसईई परीक्षामा सुरक्षाकर्मीदेखि विद्यार्थीसम्मलाई मोबाइल प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
बिहीवार प्रदेश माध्यमिक शिक्षा परिक्षा संचालन समन्वय समितिको बसेको बैठकबाट प्रश्नपत्र बाहिरिएको घटनाको अनुगमन गर्दा मोवाइलको दुरुपयोग भएको पाइएको हुनाले अव २२ गते देखि हुने बाँकि परीक्षामा प्रश्नपत्रको जिम्मेवारी बोकेका सुरक्षाकर्मी, केन्द्राध्यक्ष, निरिक्षक सहित विद्यार्थीलाई समेत मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।
बैठकबाट प्रश्न पत्र रुजु गर्दा पश्नपत्र भण्डारण गरेको कोठामा जाने सुरक्षाकर्मी, केन्द्राध्यक्ष र कर्मचारीले मोवाइललाई कोठा भन्दा बाहिर सुरक्षाकर्मीको नियन्त्रणमा राख्नुपर्ने निर्णय गरिएको छ ।
यसका साथै परीक्षामा खट्ने केन्द्राध्यक्ष बाहेकका सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी, सवैको मोवाइल अफ गरी मोवाइलवालाको नाम लेखिएको खाममा राखी बन्द गरेर सवै मोवाइल केन्द्रध्यक्षले झोलामा राखी आफ्नो नियन्त्रणमा राख्ने निर्णय समेत गरिएको कुरा समितिका संयोजक प्रमुख सचिव दिपक सुवेदीले जनाएको छ ।
सवै केन्द्रमा सुरक्षाकर्मीको उपस्थितिमा प्रभावकारी तरीकाले परीक्षार्थीको शरीरको खानतलासी गर्ने र विद्यार्थीले समेत परीक्षाकेन्द्रमा मोवाइल लगेको भेटेमा तत्काल जफत गरी सुरक्षाकर्मी मार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउने र जिल्ला प्रहरी कार्यालयले मोवाइलको प्रयोग सम्वन्धमा अनुसन्धान गर्ने निर्णय पनि गरिएको संयोजक सुवेदीले जानकारी दिएका छ्न ।
त्यसैगरी केही परीक्षा केन्द्र भन्दा बाहिरबाट प्रश्नका उत्तरहरु कार्वन कपी बनाइ वितरण गरिएको, केही कम्प्यूटर प्रिन्टबाट छापिएको भेटिएको हुनाले अब हुने परिक्षाको क्रममा सुरक्षाकर्मीले कार्बन कपी निर्माण गर्ने व्यक्ति तथा प्रिन्ट गर्ने उपकरण सहित नियन्त्रणमा लिने निर्देशन दिइएको छ ।
केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीको रुपमा नियुक्त गरिएका शिक्षक तथा कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगाना समेतको विवरण बनाइ परीक्षा अनुगमन गर्न पुगेका अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न निर्देशन दिने निर्णय पनि गरिएको बताइएको छ ।
सो बैठकमा प्रमुख सचिव सुवेदीका साथै नेपाली सेना धारापानीका उपरथी नरेशचन्द्र भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव जगदीश रेग्मी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कोमलबहादुर खत्री, शिक्षा विकास निर्देशनालयका सचिव रामाकान्त शर्मा सहित सुरक्षा प्रमुखहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !