जनकपुरधाम, प्रदेश सभा २ को सोमवार बस्ने भनिएको बैठक गएराति बारा र पर्सामा आएको हावाहुरीले हुन गएको ठूलो धनजनक्षति सहित शोकाकुल अवस्था रहेको कारण स्थगित गरिएको छ ।
प्रदेश सरकारले प्राकृतिक विपद्को अवस्थालाई हेर्दै प्रदेशसभा बैठक स्थगित गर्न लगाएको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जनाएको छ ।
प्रदेश सरकारको आग्रहपछि सोमवार बस्ने बैठक स्थगित गरिएको र आगामी बैठक चैत २० गते १ बजेका लागि बोलाइएको प्रदेश सभाका निमित सचिव रंजित यादवले जनाएको छ ।
प्रदेशसभा बैठक सहित विपद् व्यवस्थापनको राहत उद्धार लगायतका कार्यवाहेक सरकारद्वारा संचालन गरिने सम्पूर्ण कार्यक्रमहरु समेत स्थगित गरिएको उनले जनाए ।
यसअघि बिहानै प्रदेश सरकारले मृतक परिवारलाई तीन लाख रुपैया क्षतिपूर्ति, घाइतेलाई उपचार र पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरिसकेको छ । मुख्यमन्त्री सहित प्रदेश सरकारबाट गठित राहत तथा उद्धार समिति बिहानै घटना स्थल बारा र पर्सा जिल्ला पुगेका छन् ।
यसैबीच प्रदेशका जिल्लाहरुको निजी तथा सामुदायिक विद्यालयहरुमा खबर पाए लगतै शोकाकुल अवस्थाको मध्यनजर गर्दै आज विदाको घोषणा गरेको छ ।
गएराति बारा र पर्सामा आएको भीषण हावाहुरीबाट ठूलो धनजनको क्षति भएको छ । घटनामा परी हालसम्म कम्तिमा ४० जनाको मृत्यु भइसकेको छ भने सयौं व्यक्ति घाइतेको भएको छ । हाल राहत तथा उद्धारको कार्य जारी रहेको जनाइएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !