कांग्रेसले असार मसान्तभित्रै महासमिति बैठकको मिति तोक्ने तयारी गरेको छ । यसअघि केन्द्रीय समितिको बैठकले आगामी भदौमा महासमितिको बैठक डाक्ने घोषणा गरे पनि स्थान र मितिको टुंगो लगाएको थिएन । तर, अब पार्टी नेतृत्वसँगको समन्वयमा केन्द्रीय कार्यालयले मिति र स्थानको टुंगो लगाउने तयारी गरेको हो ।
बैठकको स्थान र मिति तोक्न अब केन्द्रीय समितिको बैठक बस्नुपर्ने छैन । ‘यसअघि नै केन्द्रीय समितिबाट महासमिति डाक्ने तयारी गरिसकेका छौँ,’ कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘अब छिट्टै बैठकको मिति र स्थान घोषणा हुनेछ ।’
कहाँ हुँदै छ महासमिति ?
कांग्रेस नेतृत्वको तयारीअनुसार आगामी भदौको अन्तिममा नभए असोजको पहिलो साता महासमिति बैठक बस्नेछ । विधान संशोधन समितिले जति छिटो काम गर्न सक्छ, त्यसैलाई आधार मानेर बैठकको समय तय हुने जानकारी भानुले दिए । ‘रुपन्देहीको भैरहवा वा काठमाडौंमध्ये एक ठाउँमा महासमितिको बैठक बस्ने तयारी छ । यसमध्ये भैरहवाको सम्भावना बढी छ ।’
विधान संशोधन मस्यौदा समिति कहिले बन्छ ?
देश संघीय संरचनामा गए पनि कांग्रेस अहिलेसम्म पुरानै संरचनामा चलिरहेको छ । महासमितिबाट पारित गर्ने गरी विधान मस्यौदा समिति गठन भई यसले प्रस्ताव तयार पार्नुपर्नेछ । तर, यो समिति गठन भइसकेको छैन । पदाधिकारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा विधान मस्यौदा समिति गठन गर्ने मोटामोटी समझदारी भए पनि समितिले अन्तिम आकार ग्रहण गरिसकेको छैन ।
यसर्थ यो समितिले काम थालेर विधान संशोधनका लागि प्रस्ताव तयार पार्ने विश्वास दिएपछि मात्र महासमिति तोक्नुपर्ने हुन्छ । समयमा यो समितिले विधानको मस्यौदा तयार गर्न सकेन भने महासमिति बैठक भदौको अन्तिम साता वा असोजको पहिलो साता नबस्न पनि सक्छ ।
के गर्छ महासमितिले ?
स्थानीय तह, प्रदेश सभा र संघीय संसद्मा निर्वाचनमा कम्युनिस्ट दलसँग पराजित भएपछि कांग्रेसमा नीति र नेतृत्वको विषयमा पुनर्समीक्षा गर्नुपर्ने विषय उठेका छन् । केन्द्रीय समितिको बैठकमा निर्वाचनमा भोगेको पराजयबारे समीक्षा नसकिएपछि यसबारे महासमितिमा समेत छलफल हुने गरी बैठक सकिएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !