जनकपुरधाम । मधेश प्रदेश सरकारका पूर्व ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री एवं प्रदेशसभा सदस्य शेषनारायण यादवले आफ्नो निर्वाचन क्षेत्र धनुषा–४ (ख) अन्तर्गतका विभिन्न विकास निर्माणका योजनाको अनुगमन गरेका छन् ।
शनिबार यादवले स्थानीय वडाध्यक्ष राजु साह र नेपाली कांग्रेसका वडा सभापति महेन्द्र महतोसहित विकास निर्माणका योजनाको स्थलगत अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा सडक, विद्यालय, मन्दिर, श्मशानघाट तथा सिँचाइसम्बन्धी योजनाबाट स्थानीय बासिन्दाले पाएको सुविधा र लाभबारे प्रत्यक्ष भेटघाट गरी उनीहरूको प्रतिक्रिया लिइएको थियो । अनुगमन टोलीमा स्थानीय नेता तथा सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।
यादवले आफ्नो पहल तथा संसदीय निर्वाचन क्षेत्रअन्तर्गत निर्माण गरिएका एक दर्जनभन्दा बढी योजनाको अनुगमन गरेका छन् ।
तीमध्ये वाटिका चोकदेखि तपनपुरसम्मको पाँच किलोमिटर सडक ढलान तथा कालोपत्रे, जीर्ण अवस्थामा रहेको रानी माध्यमिक विद्यालयको भवन मर्मतसम्भार र बाउन्ड्री वाल निर्माण, गौचरमा तीनकोठे भवन निर्माण तथा ह्यान्डपम्प जडान, श्मशानघाटमा शवदाह गृह तथा पार्क निर्माण र कुर्था बजारमा इन्टरलक टायल बिछ्याउने काम रहेका छन् ।
त्यसैगरी सिँचाइका लागि जडान गरिएका बोरिङ, रेलवे स्टेसनसम्मको सडक ढलान तथा विभिन्न मन्दिर निर्माणका योजनाको पनि अनुगमन गरिएको थियो ।
खासगरी वाटिका चोक–तपनपुर सडक निर्माण भएपछि स्थानीय बासिन्दाले आवागमनमा सहजता भएको बताएका छन् । विगतमा साँघुरो र हिलाम्मे सडकका कारण पैदल हिँड्नसमेत कठिनाइ हुने गरेकोमा सडक निर्माणपछि मोटरसाइकल तथा चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न सहज भएको उनीहरूको भनाइ छ ।
स्थानीय सिताराम पजियारले सडक निर्माणअघि हिलोका कारण आवतजावत गर्न निकै समस्या हुने गरेको बताए । सडक ढलान तथा कालोपत्रे भएपछि सर्लाहीको हरिनमरीसम्म पुग्नसमेत सहज भएको उल्लेख गर्दै उनले मोटरगाडीबाट करिब १० मिनेटमै पुग्न सकिने अवस्था बनेको बताए ।
त्यस्तै, स्थानीय लक्ष्मेश्वर पण्डितले शेषनारायण यादव प्रदेशसभा सदस्य तथा मन्त्री रहँदा कुर्था क्षेत्रमा विभिन्न विकास निर्माणका काम भएको बताए । उनका अनुसार पाँच किलोमिटर वाटिका चोक–तपनपुर सडक निर्माण, श्मशानघाटमा शवदाह गृह तथा पार्क निर्माण, रेलवे स्टेसनसम्म सडक ढलान, ब्रह्मस्थान तथा डिहवारथान मन्दिर निर्माण र सिँचाइका लागि बोरिङ जडानलगायतका काम भएका छन् ।
अनुगमनका क्रममा स्थानीय बासिन्दाले विकास निर्माणका योजनाबाट दैनिक जनजीवन, आवागमन, धार्मिक गतिविधि तथा कृषि कार्यमा सहजता आएको भन्दै खुसी व्यक्त गरेका थिए । स्थानीयका प्रतिक्रिया सुन्दै योजनाको अवस्था बुझ्ने र विकास निर्माणका कामबाट नागरिकले प्रत्यक्ष रूपमा पाएको लाभको जानकारी लिने उद्देश्यले अनुगमन गरिएको बताइएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !