विराटनगर । आफ्नै बुवाकाे हत्या गरेकाे आराेपमा माेरङ प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा जिल्लाको बेलवारी नगरपालिका-९ डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्री रहेकाे प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएकाे छ ।
खत्रीलाई बुधवार राती साँढे १० बजेको समयमा आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको आराेपमा प्रहरीले जनाएकाे छ । घटना लगतै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायशी बिषयमा बुबासंग बादबिबाद गरेको र बादबिबादकै क्रममा रिसको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीकाे भनाई छ । हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !