विराटनगर, फागुन ११ गते । म्याद थपका लागि जिल्ला अदालत मोरङ पुगेका दुई जना थुनुवा अदालत परिसरबाटै फरार भएको छ ।
प्रहरीका अनुसार लागुऔषध मुद्दामा प्रहरीले म्याद थपका लागि लगेका दुई जना थुनुवा म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् । फरार हुनेमा मोरङको कटहरी गाउँपालिका ४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका ५ का २० वर्षीय प्रकाश चौधरी रहेका छन ।
लागुऔषध मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप भएपछि हतकडीसहित उनीहरु भागेको प्रहरीले बताएको छ । म्याद थपपछि प्रहरीले खाजा खाने भनेपछि हातको एउटा हतकडी खोलिदिएको थियो । हतकडी खुलेपछि सोमबार दिउँसो साढे ३ बजेतिर उनीहरु फरार भएका हुन् ।
खोजी गर्दा फेला नपरेपछि म्याद थप्न लिएर गएको प्रहरी टोलीले साँझ ६ बजेतिर जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएको थियो । आरोपीहरु भारततर्फ भागेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । फरार भएका थुनुवाको खोजी तीव्र पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिएका छन ।
लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले शेखलाई आइतबार दिउँसो कटहरीबाट आठ ग्राम लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित पक्राउ गरेको थियो । चौधरी विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार पक्राउ परेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !