जनकपुरधाम, साउन १७ गते । साउन महिना यतादेखि नेपालमा पनि कडा खाले कोरोना संक्रमणको लक्षण देखिए सँगै मृत्यु दरको संख्या बढन थालेको छ ।
यसअघि नेपालमा लक्षण नदेखिएका कोरोना संक्रमण देखिएको थियो, तर साउन महिनादेखि लक्षणसहितको बिरामीसँगै मृत्युदर पनि बढ्नथालेको भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरुले अवस्था गम्भीर हुन सक्ने भएकोले थप सर्तकता र सचेतना अपनाउन जरुरी रहेको बताएका छन ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक तथा भाइरोलोजिष्ट डा.वासुदेव पाण्डेले केही दिनयता संक्रमणको अवस्था गम्भीर प्रकृतिको देखिन थालेको बताएका छन ।
उनले भने ‘पछिल्ला दिनमा झण्डै एक तिहाइमा कडा खालका लक्षण देखिएको थियो । मृत्यु हुने दर पनि बढेको छ’, अहिले अलि गम्भीर खालको अवस्था रहेकोले अब झनै सतर्कता अपनाउनु जरुरीछ ।
उनका अनुसार साउन अघिसम्म नेपालमा ९९ प्रतिशत संक्रमितमा कुनै लक्षण देखिएका थिएनन् । तर अहिले बिरामीलाई ज्वरो, रुघाखोकी, जिउ थाक्ने, श्वास फेर्न समस्या हुनेजस्ता लक्षण देखिन थालेका छन्। त्यस्तै, विभिन्न रोग भएका बिरामीलाई आईसीयूमा राखेर उपचार समेत गर्नुपरेको छ ।
शुक्रबारसम्मको ताजा तथ्यांकअनुसार देशभर संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ भने ५६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, दर्जनौ गम्भीर अवस्थाका संक्रमित आईसीयूमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा मात्रै ६१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये ६० प्रतिशत बिरामीमा कोरोनाको लक्षण देखिएको अस्पतालको व्यवस्थापन गरिरहेका डा. मदन उपाध्यायले जानकारी दिए ।
‘संक्रमितमध्ये पाँच जनाको अवस्था गम्भीर छ, उनीहरुको आईसीयूमा उपचार भइरहेको भन्दै उनले ‘यसअघिका संक्रमितमा लक्षण नदेखिए पनि साउन लागेपछि भर्ना भएका बिरामीमा लक्षण देखिन थालेको बताए ।
कोरोना संक्रमणका कारण नेपालमा दिनानुदिन मृत्युदर पनि बढ्दै गएको छ । पछिल्लो एक महिनामा औसत दैनिक एक जनाको मृत्यु भएको छ । शुक्रबारमात्रै नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !