जनकपुरधाम । आर्थिक मन्दीले व्यापार व्यवसाय सुस्ताइरहेका बेला जनकपुरधामस्थित गोपाल धर्मशालामा सञ्चालन भइरहेको सस्ता बजारले भने उपभोक्ताको ध्यान खिच्न थालेको छ ।
दैनिक उपभोग्य सामग्री, लत्ताकपडा तथा घरायसी सामान उपलब्ध हुनुका साथै विभिन्न उपहार र छुटको व्यवस्था भएपछि बजारमा किनमेल गर्न आउने सर्वसाधारणको आकर्षण बढेको हो ।दैनिक हजारौँको संख्यामा ग्राहकहरु सस्ता बजारमा आइरहेका छन । सधै सुनसान देखिने गोपाल धर्मशाला अहिले ग्राहकै ग्राहकले खचाखच भरिएको देखिएको छ ।
दशैँलाई लक्षित गरी सञ्चालन हुने सस्ता बजार जनकपुरधामका उपभोक्ताका लागि चाडपर्वको किनमेल गर्ने एउटा महत्त्वपूर्ण गन्तव्य बन्दै गएको छ । सीमित आम्दानीमा चाडपर्वको आवश्यकता पूरा गर्नुपर्ने परिवारका लागि सहुलियत दरमा सामान खरिद गर्न पाउनु यसको प्रमुख आकर्षण बनेको उपभोक्ताहरू बताउँछन् ।
चाडपर्वका बेला नयाँ कपडा, जुत्ता, घरायसी सामग्री तथा दैनिक प्रयोगका वस्तु खरिद गर्ने चलन छ । तर, बढ्दो खर्च र आर्थिक दबाबका कारण उपभोक्ता मूल्यप्रति बढी सचेत हुन थालेका छन् । यही अवस्थामा विभिन्न सामानमा छुट, सहुलियत मूल्य र उपहारको व्यवस्था गरिएका बजारले ग्राहकलाई आकर्षित गरिरहेको छ ।
कम्पनीबाट सिधै उपभोक्तासम्म सामान

सस्ता बजारको मुख्य विशेषता उत्पादक कम्पनी वा आपूर्तिकर्ताबाट सामान सिधै उपभोक्तासम्म पु¥याउने प्रयास रहेको विक्रेताहरू बताउँछन् । यसबाट बीचका एजेन्सी तथा अन्य बिक्री तहमा लाग्ने खर्च कम गर्न सकिने र त्यसको लाभ उपभोक्तालाई मूल्यमा सहुलियत दिएर उपलब्ध गराउन सकिने उनीहरूको भनाइ छ ।
विक्रेताका अनुसार सामान्य व्यापारिक प्रक्रियामा ढुवानीबाहेक एजेन्सी, खुद्रा विक्रेता, पसलको भाडा तथा कर्मचारी व्यवस्थापनजस्ता खर्च पनि वस्तुको मूल्यमा जोडिन सक्छन् । यस्ता खर्च घटाउन सके उपभोक्तालाई तुलनात्मक रूपमा सस्तो दरमा सामग्री उपलब्ध गराउन सहज हुने उनीहरूको तर्क छ ।
सस्ता बजारमा विभिन्न कम्पनीका सामान एकै स्थानमा उपलब्ध हुँदा उपभोक्तालाई किनमेल गर्न पनि सहज भएको छ । एउटै ठाउँमा विभिन्न वस्तु हेर्न, मूल्य बुझ्न र आवश्यक सामग्री छनोट गर्न सकिने भएकाले समयको बचतसमेत हुने ग्राहकहरूको बुझाइ छ ।
सुस्त बजारमा व्यापार बढाउने अवसर

आर्थिक गतिविधिमा सुस्तता देखिएको अवस्थामा चाडपर्वलाई लक्षित गरेर सञ्चालन हुने सस्ता बजारले व्यापार व्यवसायलाई चलायमान बनाउन सहयोग पु¥याएको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जनाएको छ । उनले भने उपभोक्ताले सहुलियत मूल्यमा सामान पाउने र व्यवसायीले धेरै ग्राहकसम्म आफ्नो उत्पादन पु¥याउने अवसर हो, यसले मन्दीको बेला व्यवसायीहरुको कारोबार पनि बढेको छ ।
गोपाल धर्मशालामा करीब चार दशक लामो समयदेखि सस्ता बजार लाग्दै आएको छ । चाडपर्वको समयमा स्थानीय बजारमा चहलपहल बढाउन र सर्वसाधारणलाई आवश्यक सामग्री खरिद गर्ने विकल्प उपलब्ध गराउन यस्ता बजारले भूमिका खेल्दै आएका छन् ।
पहिला गाउँ गाउँबाट हजारौको संख्यामा उपभोक्ताहरु सस्ता बजार आउने गरेको थियो । तर अब प्रत्येक ठाउँमा बजार र खुल्ला सीमा भएको कारण उपभोक्ताको संख्यामा केही कमी आएपनि मन्दीका बेला व्यापारिक कारोबारमा उल्लेखनीय प्रगति हुने अपेक्षा रहेको उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !