विराटनगर, साउन २६ गते । कोरोना संक्रमितको संख्या बढदै गएपछि विराटनगर महानगरपालिका वडा नं ९ स्थित गुदरी बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको छ ।
महानगरको सो वडामा संक्रमितको संख्या ४७ पुगेको छ र त्यसमा अधिकांश गुदरी बजारकै रहेका कारण सोममावरदेखि सिल गरिएको मेयर भीम पराजुलीले बताए । गुदरीमा तरकारीको ठूलो बजार लाग्ने गर्छ र त्यहाँ बस्ने अधिकांश व्यापारी नै हुन ।
गुदरीमा संक्रमणकै कारण दुई जनाको मृत्यु भइसकेको छ । मेयर पराजुलीका अनुसार सो क्षेत्रमा संक्रमितहरु एउटै परिवारका ११ जनासम्म छन् ।
गुदरी बजार क्षेत्रका धेरैमा संक्रमण देखिएपछि अवस्था नियन्त्रणका लागि सिल गरिएको हो’ मेयर पराजुलीले भने ‘परीक्षणको दायरा पनि बढाएका छौं । बजार क्षेत्रबाट कोरोना भाइरस अन्यन्त्र पनि फैलिएको महानगरपालिकाले बताएको छ ।
गत १८ साउनमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका ४५ वर्षका पुरुषको आफन्तमा संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका वडा नं ९ का अध्यक्ष विश्वनाथप्रसाद भगतका अनुसार मृतकको परिवारका ५ जनामा संक्रमण पुष्टि भएको छ ।
बुढीगंगा र रंगेलीमापनि कडाइ
यसैबीच कोरोना संक्रमण तीब्र देखिएपछि विराटनगर महानगरपालिका ९ सिल गरिएसंगै जिल्लाको बुढीगंगा गाउँपालिका १ र रंगेली नगरपालिका ७ मा कडाइ गरिएकोे मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताएका छन ।
उनका अनुसार विराटनगरको गुदरी बजार, बुढीगंगाको आरती स्ट्रीप उद्योग र रंगेली बजार क्षेत्रमा संक्रमण उच्च छ । कोरोनाको जोखिमलाई नियन्त्रणका लागि निषेधित क्षेत्र घोषण गरी आवागमन बन्द समेत गरिएको छ ।
सोमबार विराटनगर महानगरपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या २९३ पुगेको छ । संक्रमितमध्ये चार जनाको मृत्यु भइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !