जनकपुरधाम, चैत १९ गते । प्रदेश २ सरकारले कोरोना संक्रमणको आशंकामा बिरामीको उपचार गर्न नमान्ने निजी अस्पताल तथा निर्सिंग होमको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ ।
कोरोना संक्रमणको बेला बिरामीको स्वास्थ्यसंग निजी अस्पताल तथा नर्सिंगहोमले बिरामीको स्वास्थ्य खेलवाड गरिरहेको जनगुनासो आउन थालेपछि प्रदेश २ सरकारले यस्तो निर्णय लिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
शंकास्पद बिरामीको उपचार नगर्ने तथा बिरामीलाई फर्काउने अस्पताल तथा नर्सिग होमको लाइसेन्स खारेजीसम्मको कार्वाही गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पठाएको पत्रमा निर्देशन दिइएको छ ।
आन्तरिक मामिला तथा कानुनमन्त्रालय प्रदेश २ ले बुधबार आठै जिल्लाका प्रशासन कार्यालयलाई पत्राचार गरी कोरोना महामारी र लकडाउनको अवधि भर अर्को व्यवस्था नहुन्जेल उपचार गर्न नमान्ने निजी अस्पताल तथा नर्सिङ होमलाई नियन्त्रणमा लिइ स्वास्थ्य सेवा नियमित सचालन गर्न र गराउन निर्देशन समेत दिइएको छ ।
यसअघि सोमवार सरोकारवाला निकाय सहित मन्त्रिपरिषदको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले समान्य ज्वरो, रुघाखोंकी चेकजाँच नगर्ने चिकित्सक र स्वास्थ्य संस्थाको लाइसेन्स खारेज र थुन्नेसम्मको अभिव्यक्ति दिएको थियो ।
अभिव्यक्तिको भोली पल्टै आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिरामी चेकजाँच नगर्ने अस्पताल, निजी क्लिनिक र नर्सिंग होमलाई कारवाही गर्न निर्देशन दिएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !