लोक समाचारदाता
जलेश्वर, फागुन २९ गते ।
महोत्तरीको पिपरा स्थित नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा पिपराको एक करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संस्थाकै वरिष्ठ उत्प्रेरक मोरङको ग्रामथान गाउँपालिका ३ का २६ वर्षीय बद्रीनारायण तवदार र सहायक उत्प्रेरक जहदा गाउँपालिका ३ का ३१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिएका छन ।
यिनीहरुमाथि संस्थाको एक करोड ६१ लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको आरोप रहेको छ ।
दुवै जनाले नक्कली ऋणी बनाएर झुठा विवरण तयार पारी कर्जा लगानी देखाई र सदस्यहरुबाट मासिक सावा किस्ता र ब्याज रकम समेत असुली उठाई बैंकमा जम्मा नगरी १ करोड ६१ लाख ७६ हजार ८ सय ६० रुपैयाँ हिनामिना गरेको देखिएको प्रहरी निरीक्षक बस्नेतको भनाई छ ।
सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रवन्धक ऋषिप्रसाद न्यौपानेको उजुरीको आधारमा ती दुईमाथि बैंकिङ कसुर मुद्दामा कारबाही भइरहेको प्रहरी निरीक्षक बस्नेतले जनाएको छ ।
रकम हिनामिनामा यी दुई जना बाहेक अन्यको पनि संलग्नता रहेको आशंकामा वितिय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि निगरानीमा रहेको उनले बताए । @ राजधानी
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !