लोक समाचारदाता
काठमाडौ, पुस १९ गते ।
करीब दुई सातादेखि काठमाडौमा आन्दोलनरत उखु किसान र सरकारबीच भुक्तानीका लागि ५ बुंदे सहमति भएको छ ।
शुक्रबार राति उद्योग मन्त्रालयमा पाँचबुँदे सहमति पश्चात उखु किसानहरुको आन्दोलन स्थगित भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थिति र उखु किसानहरुको तर्फबाट आन्दोलनको नेतृत्वकर्ता हरिनाथ रायको सहभागितामा भएको वार्तामा सरकारले तोकेको मूल्य अनुसार माघ ७ गतेभित्र सबै भुक्तानी दिलाउनेसहित पाँचबुँदे सहमति भएको हो ।
भुक्तानीका साथसाथै हरेक वर्ष उखुको मूल्य तत्काल भुक्तानी गर्ने स्वचालित प्रणाली बनाउन कार्यदल गठन, उखु किसानको अनुदान समयमै दिलाउन कृषि र अर्थ मन्त्रालयमा पत्राचार गर्ने, उखु किसानको भुक्तानी र समस्या सम्बोधन गर्न आपूर्ति व्यवस्थापन महाशाखालाई सम्पर्क महाशाखा बनाइने र उखु किसानले आजैदेखि आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गर्ने सहितका सहमति पनि भएको छ ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !